• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

आठौं स्मृतिमा सहिद पत्रकार उमा सिंहलाई सहकर्मी गायत्रीको चिठ्ठी

आठौं स्मृतिमा सहिद पत्रकार उमा सिंहलाई सहकर्मी गायत्रीको चिठ्ठी
आदरणीय दिदी उमा
सत् सत् नमण
 
दिदी तपाईले माया  मारेर जानु भएको आज ८ औँ वर्ष । थाहा छ मलाई तपाईले माया मार्नु भएन् पापीहरु,हत्याराहरुले तपाईलाई हामी बाट टाढा बनायो । स्मरण छ मलाई त्यो कालो रात जसको दिन एकदमै उज्यालो र मजाकिलो थियो दिदी । याद छ मलाई त्यो दिन जुन साँझ तपाईलाई ती राक्षश रुपी मानवहरुले तड्पाएको थियो,रुवाएको थियो । ती चित्कारहरु मेरो कानमा अहिले पनि गुञ्जिरहेको छ दिदी । तपाईको बचाउ बचाउ शब्द मेरो मन मस्तिस्कमा अहिले पनि ताजै छ ।
दिउँसो ४ः३० बजे पौष २७ गत्ते २०६५ को त्यो दिन मेरो  मानसपटलमा छ । दिदी हामी एक अर्कालाई अन्तिम अँगालो मारेका थियौ र सदा झै तपाईको सुझाव पाएकी थिएँ । तपाईको वजन लाई लिएर मैले तपाईलाई कत्ति जिस्काएको थिएँ याद छ मलाई । त्यसै दिन मैले मलाई पनि अन्तर्वाता लिन सिकाईदिनु भनेर आग्रह गरेकी  थिएँ तपाईलाइ र तपाईले मेरे चिउँडो समातेर माया दर्शाउँदै हस् हस् झाँसीकी रानी भनेर भन्नुभाको मैले बिर्सनै सकेको छैन दिदी । मैले तपाईको त्यो हँसिलो अनुहार भित्रको वेदना अहिलेसम्म सबैसँग साझा गर्न सकेको छैन दिदी । तपाईको भाउजु ललिता देवीले तपाईको आमा लाई गाईघरमा थुनेर मारदिन्छु धम्की दिएको तथा आमालाई गोठबाट निकाल्न कसरी तपाई जनकपुर बाट आफ्नो गाउँ पुग्नु भो बन्दीकोे समयमा मैले आफ्नो आमालाई पनि सुनाउन सकिन् दिदी । म मा आँट छैन दिदी तपाईको सानो तर संघर्षपूर्ण जीवनयात्राको बखान गर्न सकु । मेरो हिम्मतले काम गर्दैन तपाईको सानै जीवनमा घटेका घट्नाहरुलाई पुनः स्मरण गर्न सकुँ । म मा तपाई जत्तिको हिम्मत छैन दिदी । म तपाईको त्यो ३० किलोको जिउ २२ ठाउँमा काटिएको बिर्सन सक्दि । शायद निष्पक्ष र निडर पत्रकारको हत्या नै मूख्य कारण हो दिदी कि तपाईपछि महिला पत्रकारहरुले सामन्तीहरुको विरोधमा खुलेर बोल्न वा लेख्न सकेका छैनन् । हो दिदी विभत्स शरीर तपाईको अहिले पनि महिला पत्रकारहरुलाई निडर बन्न दिएको छैन । मैले एकजना निडर र क्रियाशिल महिला पत्रकारलाई ,मेरो के गल्ती थियो मलाई किन मारि रहेछौ,बचाउ बचाउ भन्दै देह त्यागेको देखेकी छु । म एकजना साहशिली पत्रकारलाई समाजको ऐना बनेको देखेकी छु । तर दानवहरुले ती ऐनालाई चकनाचुर गरेको साक्षी पनि मेरो यो दोषी आँखा नै हो दिदी जसले तपाई लाई बचाउँन सकेन् । मलाई त्यो कालो रात्रीले अहिले पनि डराईरहेको छ दिदी । अझै साँझमा दुई,चार पटक बिजुली गएपछि तर्सिन्छु म । मैले तपाई बितेपछि नाईट क्लाश नै छोडिदिए । तर पत्रकारीता छोडेको छैन दिदी । म पनि अब संचारकर्मी बाट पत्रकार बन्न खोजिरहेको छु । आखिर मलाई मेरो प्यारी दिदीको ईक्षा पनि तऽ पुरा गर्नु छ । दिदी जानकारी गराउँ कि हाम्रो जनकपुरको महिला संचारकर्मीहरु अब पत्रकार बन्न जोसिएका छन् ।खुशी लाग्यो नि दिदी । हो, म पनि एकदमै खुशी छु । दिदी आशिर्वाद पाउँ, म तपाईको सपना  पुरा गर्न सकुँ । आखिर तपाईको सपना पुरा गर्नु नै तपाई प्रतिको सही अर्थमा श्रद्धाञ्जली व्यक्त गर्नु हो दिदी । अब हामी क्रियाशिल महिला पत्रकार हुँदैछौँ । अब तपाई जस्तै निडर,साहशिली  पत्रकार बन्ने छौ हामी दिदी । हो ती डरहरु म मा छन् तर मलाई मेरो दिदीको आत्मालाई चिरशान्ति पनि प्रदान गराउनु छ । यही वाचाको सँग विदा चाहन्छु ।
                                       तपाईको अभागी बहिनी
                                       रिंकु मिश्र(गायत्री)
 


यसमा तपाईको मत