• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

समानताको सन्देश दिने पर्व छठ

समानताको सन्देश दिने पर्व छठ

नेहा झा
सत्य र अहिंसाप्रति मानवीय रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मिथिलाञ्चलबासीको महान् चाड हो, छठ पर्व । मिथिलाञ्चलका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा आवश्यक पर्ने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त मिथिलाञ्चलमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
जसरी शरीर आत्माको, ज्योति प्रकाशको, मन्दिर मूर्तिको, पुत्र पिताको, अभिव्यक्ति भावको, मार्ग लक्ष्यको, ध्याता ध्येयको, भाव बन्धनको तथा संसारिकता संसारको प्रतिक मानिन्छ, त्यसैगरी सूर्यलाई भौतिक उर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्प्रद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, व्रह्मचर्य तथा श्रद्धाको उदयमान प्रतिक मानिन्छ ।
छठ पर्वको विधि
विशेष गरेर मिथिलाञ्चलमा कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक शुक्ल चौठी देखि शुरु हुने यो पर्वको समापन कार्तिक शुक्ल सप्तमी तिथिको दिन हुन्छ । चौठी तिथिका दिन अर्बा अर्बाइन गरिन्छ भने चौठीकै दिन नहाए खाए भन्ने विधि समेत गरिन्छ । यो दिनमा व्रतालुहरुले खोला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइ धुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि पर्वको सुरुवात गर्ने गर्छन् ।
कार्तिक शुक्ल पञ्चमी तिथिका दिनलाई ‘खरना’ भन्ने गरिन्छ । खरना अर्थात पापको क्षय हो । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने चलन रहेको छ  । प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई वा कुल देवतालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । षष्ठीका दिन गहुँ र चामल, ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाउँछन् । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाले श्रद्धापूर्वक गीत गाउने गर्छिन् ।
छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पिरिकिया तथा मुला, गाजर, बेसार, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक छठको गीत गाउने गर्छिन्
आदित्य पर्व छठ नेपालको एउटा प्रमुख र मिथिलाको सर्वप्रमुख पर्व हो । सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ । जीवन, जगत, प्रकृति, वनस्पति, ग्रह नक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो ।
मिथिलाञ्चलमा सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि–विधानानुसार परम्परागत रुपले गर्ने परम्परा छ । यसै तिथि–मितिमा छठिमाईको पूजा सूर्यपूजा सँगै गरिन्छ । मिथिलामा छठिमाईको आसि र सत्या असीम र अटूट रुपमा मानिन्छ । षष्ठी देवी अर्थात छठीमाईको जन्म प्रकृतिको छैठौं अंशबाट भएको हो र यसैकारणले उहाँको नाउ छठी मैया पर्न गएको हो ।
एकै दिनमा एकै अर्घ–नैवेद्यबाट सूर्य र छठीमाईको पूजा हुने गरेको छ । सबै देव माताहरु माता नै हुन् र सबै पूजयनीय भएपनि छठीमैयालाई सुत्केरी आमा मानिन्छ र यिनलाई नै निनियाँ देवी पनि भनिन्छ । बाल–बालिका जन्मेको छठौं दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रुपमा छठियार पुज्ने गर्छिन् ।
लोक विश्वास छ कि छठिमैयाले बालकको भाग्य–भविष्य त्यसैदिन लेख्ने गर्छिन । अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठिमैयाको न्यानो काँखमा हुने गर्दछन् र यी मैयाले शिशुको माया–दुलार गरी हर्ष–आनन्द प्रदान गर्ने गर्छिन् ।
लोकपूजा छठी–व्रत आदिपूजा हो र सभ्यता संस्कृतिको साथै धेरैजसो अन्न र खाध–पदार्थको प्रचलन ठीक ढंगले नभएको अवस्थाको रहेको बुझिन्छ । पुनः सप्तमीको दिन छठ ब्रतालु मिर्मिरे बिहानीमा उदयमान भगवान भास्करलाई अर्घ दिन छठी घाटमा उपस्थित हुन्छन् । सूर्य नउदाउन्जेलसम्म महिलाहरुले लोक गीतको माध्यमले बिन्ती गर्छन ।  
‘उग हो सुरुज देव
अर्घ के बेरिया’

आदिपर्व छठको विभिन्न गीतहरु प्रचलित छन् । यो गीत लोकसामवेदीय गानको रुपमा प्रसिद्ध छ । यस गीतलाई यस पर्वको सवै तयारीको क्रममा, अराधना आदिको क्रममा अवश्य नै गाइने गरिन्छ । यसमा सूर र छठि मैयाको महिमा, व्रतको महिमा र फलाफलका साथै अन्य भावका सुमधुर गीत गाइने प्रचलन छ ।
यसरी गीतका साथै प्रकाश रुपी आदित्य देव दिवाकरलाई स्तुतीगान गर्दै अर्घदान दिएर छठ पर्वलाई पूर्णाहूति दिइन्छ ।
धार्मिक मान्यता
लंका बिजय पश्चात अयोध्यामा बृहत रामराज्यको स्थापना गरि कार्तिक शुक्ल षष्ठिको दिन भगवान राम र सिताले सूर्यदेवको उपशना गरे र रातभर जाग्रम बसि भोलिपल्ट सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ्दिई छठ पर्वको समापन गरेको कथन पाईन्छ ।
सुर्य पुराणका बर्णन गरिए अनुसार अत्रि मुनिका पत्नि सति अनुशुयाले सुख,शान्ति तथा आफ्नो दाम्पत्य प्रेम निष्ठाका लागि गरेकि थिईन् सोहि समय देखि छठ पर्वको शुरुवात थालनी भएको भन्ने मान्यता रहदै आएकोछ ।
त्यस्तै द्वापर युगको महाभारतकालमा पञ्चपाण्डपहरु बनबासमा हुँदा दौपदीले आफ्नो अज्ञात बास सफल होस भनि सुर्यदेवको आराधना गरेको महाभारतमा बर्णन गरिएकोछ ।
महाभारतका सुर्यपुत्र कर्णले केयौ समयसम्म पोखरि तथा तलाउँमा डुबेर सूर्य देबको उपासना गरे जसको फलस्वरुप उनमा एक किसिमको शक्ति आई महान योद्धा भए भनि यहि समय देखि सूर्यदेबको पूजा तथा आराधना गरिन्छ ।
वैज्ञानिक महत्व
छठ पर्वमा बिशेष गरि सूर्य देवको पूजा गरिन्छ । पृथ्वीमा सूर्यको किरण सँगै हामी उठ्छौ र दैनिक कामहरु गर्दछौ । सूर्यको किरण नहुँने हो भने पृथ्वीमा मानव जिवन तथा जीवीत प्राणीको कल्पना पनि गर्न सकिदैन तसर्थ सूर्यबाट मानिसले सकारात्मक उर्जा तथा शक्ति ग्रहण गर्दछ र बिधिन्न खोज तथा अनुशन्धानमा लागि रहन्छ । सूर्यबाट आउँने बिभिन्न किरणहरुले हाम्रो शरिरमा भएका महत्वपुर्ण अंगहरुले एक किसिमको शक्ति लिन्छन् र स्तव स्फुर्त रुपमा चलिरहन्छन् । बिधिपुर्वक सूर्यलाई बिहान तामोको भाडामा जल राखेर चडाउँने होभने बिभिन्न किसिमका रोगहरु निको पार्न सकिने बिज्ञानमा उल्लेख भैसकेकोछ । बिकशित मुलुकहरुमा सन बाथ लिई मानिसले उर्जा तथा शक्ति ग्रहण गर्दछ । सप्पुण उर्जा तथा शक्तिको कारक सूर्य भएकोले छठ पर्वमा बिशेष गरेर सूर्यको पूजा तथा उपासना गरिन्छ ।
छठ पर्वको आशय
आदित्य पर्व छठको मुख्य आशयलाई केलाउँदा आदित्य भक्ति एवंम समर्पण भाव अति मनोहारी तथा वैज्ञानिक आध्यात्मिक महत्व परिलक्षित हुन्छ । यस पर्वमा सबै समुदायका व्यक्ति एकै ठाउँमा बसी पूजा गर्ने भएकोले अहिले समयमा व्यक्ति व्यक्तिबिच तिक्तता बढी रहेको समयमा यस पर्वले सबैलाई जोड्ने एक सूत्रमा बाँधी समानताको सन्देश दिन्छ ।    
विभाकर सूर्यको अध्ययनबाट स्पष्ट हुन्छ कि यसको माध्यमबाट उत्पन्न हुने महाप्राण परमब्रह्म परमात्माको अंश जसले गर्दा यो सृष्टि निविर्घन चलिरहन्छ । यो महाप्राण रुपी प्रकाश जब शरीरमा अवत्तिर्ण हुन्छ अनि आरोग्य, आयु, तेज, ओज, शक्ति, उत्साह, स्पूmर्ति, इन्द्रिय शक्तिको रुपमा दृष्टिगोचर हुन्छ ।
 

फोटो साभार : सामाजिक सञ्जाल
    

 



यसमा तपाईको मत