• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

यु— १९ एसिया कप ः नेपालका अघि बाधक बन्यो अफगानिस्तान, नेपाल सात विकेटले पराजित

यु— १९ एसिया कप  ः नेपालका अघि बाधक बन्यो अफगानिस्तान, नेपाल सात विकेटले पराजित
मंसिर १ गते ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको फाइनल यात्राका लागि नेपालका अघि अफगानिस्तान बाधक बनेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ । 
मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो । 
अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए । इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन। 
अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन । उनले नेपालको ६ विकेट लिए । आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो ओभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह आउट भए । २० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पौडेललाई मुजिब उर रहमानले नै आउट गरे । अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए । 
भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए । किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए ।  १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए । साहब आलमले १५ बलमा ७ रन बनाए । 
समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई सेमिफाइनलमा हराउन सकेन । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । खेलअघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गर्ने बताएका थिए । सोचेअनुरुप खेल भने हुन सकेन । अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने उनले बताएका थिए । ‘अफगानिस्तानसँग हामीलाई सहज छैन । उनीहरुले निकै राम्रो खेलिरहेका छन् । उनीहरुलाई हाम्रो खेल राम्ररी थाहा छ । हामी अन्तिमसम्म पूरै मेहनत गरेर प्रस्तुत हुनेछौँ’ दासको भनाई थियो । उनले भनेजस्तै अफगानिस्तान बलियो देखिएको छ ।   
 
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ । 
समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालले आइतबार इतिहासमै पहिलोपटक भारतलाई पराजित गरेको थियो ।पहिलो खेलमा नेपाल बंगलादेशसँग भने पराजित भएको थियो ।मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल यसअघि पनि अफगानिस्तानसँग एसीसी यु–१९ एलिट कपमा सन् २००७ मा ४८ रनले विजयी, २००९ मा ६ विकेटले पराजित, २०११ मा समूह चरणमा ६ विकेटले विजयी र फाइनलमा ६१ रनले पराजित भएको थियो । यस्तै आइसीसी यु–१९ वल्र्ड कप क्वालिफायरमा सन् २०११ मा नेपाल ४२ रनले विजयी भएको थियो । २०१७ मा भने नेपाल १ सय ४२ रनले पराजित पहिलो लिगमा र ९६ रनले दोस्रो लिगमा पराजित भएको थियो । एसीसी यु–१९ प्रिमियर लिगमा सन् २०१४ अफगानिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको थियो । एसीसी यु–१९ प्रिमियर लिगमै सन २०१५ मा नेपाल १० विकेटले पराजित भएको थियो ।
 


यसमा तपाईको मत