• :
  • :
    • On Air
    • Nepal Khabar
    • Up Next
    • Sapna sapne Rahigel Repeated

समाचार

राजधानी नतोकी प्रमुख नियुक्त गर्ने सरकारको तयारी

राजधानी नतोकी प्रमुख नियुक्त गर्ने सरकारको तयारी
पुस २४ गत्ते, काठमाडौं ।
सरकारले प्रदेशको अस्थायी राजधानी नतोकि प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको छ । सोमवार सम्ममा प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ । 
कानून तथा संसदीय व्यबस्था मन्त्री यज्ञबहादुर थापाले सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको जानकारी दिए । सरकारको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संविधानको धारा १ सय ६३ मा व्यबस्था गरिएको छ ।   
प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि राष्ट्रपति समक्ष सपथ लिने छन् । बिहीवार बसेको सर्वदलीय बैठकमा वामपन्थी गठबन्धनले प्रदेश प्रमूख नियुक्तीका लागि ‘मौन समर्थन’ जनाएको थियो । 
प्रदेशको अस्थायी राजधानी या मुकाम तोक्दा विबाद चर्किने भएपछि सरकारले काठमाडौमै प्रदेश सभाका सांसदहरुको शपथ गराउने गरी प्रदेश प्रमुख नियुक्त गर्न तयारी गरेको हो ।  
निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको समयमा सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको सरकारका अर्का एक मन्त्रीले बताए । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र प्रदेश सभाको बैठक बस्नुपर्ने संवैधानिक व्यबस्था छ । 
प्रदेशको अस्थायी राजधानी तोक्दा कतिपय ठाउँमा जनआक्रोश बढ्ने भएकोले सरकारले त्यसको अपजस वामपन्थी सरकारको टाउकोमा हाल्न खोजेको छ । एमालेले भने प्रदेश प्रमुखको नियुक्तिसँगै प्रदेशको अस्थायी राजधानी पनि तोक्न माग गरेको छ । 
सरकारले पहिलै अस्थायी राजधानी नतोकेमा प्रदेश सभाको पहिलो बैठकले प्रदेशको राजधानी तोक्ने छ । यसअघि सरकारले विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, दाङ, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको सूचना चुहिएपछि कतिपय ठाउमा विरोध प्रर्दर्शन शुरु भएको थियो । 
प्रदेशको राजधानी मागगर्दै धनकुट्टा र डोटीमा आन्दोलन भएका छन भने बुटवलमा कांग्रेसकै अगुवाइमा विरोध प्रदर्शन भएको थियो । 
प्रदेश प्रमुखका जसको चर्चा छ
सरकारले समाजमा ख्याती प्राप्त व्यक्तिलाई प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ ।  भारतमा पनि समाजमा प्रतिष्ठित व्यक्तिलाई ‘गभर्नर’ तोक्ने व्यबस्था छ । 
नेपाली कांग्रेस स्रोतका अनुसार प्रदेश प्रमुखका लागि पूर्वप्रधान सेनापति रुक्माङगत कटवालदेखि म्यागासेसे पुरस्कार विजेता महाविर पुनसम्मको चर्चा छ । सात प्रदेश मध्ये कम्तिमा दुई जना महिला नियुक्त गर्ने सरकारको तयारी छ । 
सिएनएन हिरो माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको नाम प्रदेश प्रमुखको रुपमा चर्चा छ । पूर्वन्यायाधीश, नेपाल सरकारका पूर्वसचिव, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पूर्व कुलपतिसम्मको नाम चर्चामा रहेको छ । 
सरकारले एमालेसँग दुई र माओवादी केन्द्रसँग एकजनाको नाम मागेको स्रोतको दावी छ । ययअघि वामपन्थी दलहरुले प्रदेश प्रमुखको नियुक्ति सरकारले एकलौटी गरेमा पछि उल्टाउने चेतावनी दिएका थिए । 
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल तथा राम नगिना सिंहको नाम समेत चर्चामा छ । प्रदेश प्रमुखको नियुक्ति भएपछि प्रदेश सभाको अन्तिम नतिजा बुझाउन सजिलो हुने निर्वाचन आयोगले बताउँदै आएको छ । 
 

 



यसमा तपाईको मत