• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुर अञ्चल अस्पतालको नामाकरण डा. लक्ष्मी नारायण झाको नाममा गर्न कांग्रेस नेता निधिको प्रस्ताव

जनकपुर अञ्चल अस्पतालको नामाकरण डा. लक्ष्मी नारायण झाको नाममा गर्न कांग्रेस नेता निधिको प्रस्ताव
पुस २५ गत्ते,धनुषा ।
नेपाली काँग्रेसका नेता एवम पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुर अञ्चल अस्पतालको नामाकरण डा. लक्ष्मी नारायण झाको नाउँमा गर्न प्रस्ताव गरेका छन् । गणतन्त्र पक्षधर डा.झालाई तत्कालीन पञ्चायती सरकारले वेपत्ता बनाएको थियो । उनको वास्तविक अवस्था अझै अज्ञात छ ।
नेपालमा गणतन्त्र ल्याउन डा. झाले अभूतपूर्व योगदान दिएको भन्दै जनकपुर अञ्चल अस्पतालको नामाकरण उनको नाउँबाट गर्न निधिले प्रस्ताव गरेका छन् । नगराईन नगरपालिकाको पहिलो नगर परिषदको सोमबार उदघाट्न गर्दैै निधिले भने,‘डा.झा गणतन्त्रवादी थिए । नेपालमा गणतन्त्र स्थापना गर्न उनको योगदान कदापि बिसर्न सकिँदैन । जनकपुर अञ्चल अस्पतालको नाउँ उनको नामबाट होस मेरो प्रस्ताव छ ।’
नेता निधिले अञ्चल अस्पतालको नामाकरण गर्ने विषयमा नगराईन नगरपालिका, जनकपुर उपमहानगरपालिका लगायत धनुषाका सम्पूर्ण स्थानीय तहबाट प्रस्ताव पारित गराएर स्वास्थ्य मन्त्रालयमा पठाउन आग्रह समेत गरेका छन् । डा.झालाई पटक पटक सहीद घोषणा गर्न प्रश्न उठि रहेको बेला निधिले भने, ‘लक्ष्मी नारायण झाको योगदान र बलिदानको जति चर्चा गरेपनि कम हुन्छ । उनलाई सहीद घोषणा गर्न पटक पटक आवाज उठ्दै आएको छ । तर, उनको वास्तविक अवस्थाको विषयमा यथेष्ट प्रमाण नभेटे सम्म र परिवारले उनको निधन भएको स्वीकार नगरे सम्म कसरी सहीद घोषणा गर्न सकिन्छ ?’
जनकपुर अञ्चल अस्पताललाई पहिलो चरणमा प्रादेशिक र दिर्घकालीन योजना अनुरुप राष्ट्रिय स्तरको अस्पताल बनाउन उनले पहल सुरु गरि सकेको जानकारी समेत दिए । यस भेगकै पुरानो अस्पताल राष्ट्रिय अस्पतालमा रुपान्तरण हुँदै शिक्षण अस्पतालमा परिणत होस आफ्नो चाहना रहेको निधिले बताए ।
काँग्रेस नेता निधिले राजर्षी जनक विश्व विद्यालय स्थापनार्थ कानुन पारित भइसकेको र छिटै उपकुलपति नियुक्त हुने जानकारी समेत गराए । उनले भने,‘राजर्षी जनक विश्वविद्यालय स्थापनाका लागि राष्ट्रपतिले कानुन प्रमाणीकरण गरि सक्नु भएको छ । एक दुई दिन भित्रै उपकुलपति नियुक्तिको विषयमा तँपाईहरुले जानकारी पाउनु हुने छ ।’
प्रदेश नम्बर २ को राजधानी तय गर्ने विषयमा केहि द्धिविधाहरु देखिएपनि जनकपुरलाई राजधानी बन्नबाट कसैले रोक्न नसक्ने निधिले दोहराए । निधिले वर्तमान सरकार या अब बन्न सरकार अगाडी जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी जनकपुरलाई घोषणा गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।नेता निधिले वर्तमान संविधान अनुसार स्थानीय तहमा धेरै अधिकार गएको भन्दै नगर क्षेत्रको विकासका लागि गुरु योजना तर्जुमा गरी अगाडी बढ्न सुझाव दिए । नगर क्षेत्रको विकासका लागि भू–उपायोगमा जोड दिँदै भूमिलाई प्रयोग गर्दै विकास योजना तर्जुमा गर्न उनको जोड थियो ।
नगराईन नगरपालिकाका मेयर परमेश्वर यादवले चालु आर्थिक वर्षको लागि ३९ करोड १२ लाख ६७ हजारको आय व्यय विवरण प्रस्तुत गरेका छन् । पूर्वाधार तथा संरचना, शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रममा जोड दिइएको निती तथा कार्यक्रममा चालु तर्फ १८ करोड २० लाख ८७ हजार र पुँजीगत तर्फ २ करोड ९ लाख १८ हजार खर्चको प्रक्षेपण गरिएको छ ।
 


यसमा तपाईको मत