• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

ओलीलाई सर्वोच्च नेता र प्रचण्डलाई सेरेमोनियल अध्यक्ष अमान्य

ओलीलाई सर्वोच्च नेता र प्रचण्डलाई सेरेमोनियल अध्यक्ष अमान्य
माघ २९गत्ते,काठमाडौं ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रयास अझै अलमलमा परेको छ ।
दुई पार्टी मिल्छन् भनेरै नागरिकले चुनावमा मत दिएकाले जसरी पनि एकता गर्नुपर्ने बाध्यता छ, तर एकतापछिको पार्टी अध्यक्ष को हुने भन्ने हानथापले गाँठो फुस्कन सकेको छैन ।
पार्टी एकताका बिभिन्न मोडालिटीबारे छलफल भैरहेपनि टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् । माओवादीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पाउनुपर्ने अडान राख्दै आएको छ भने एमालेले दुवैमा दावी गर्दै आएको छ ।
सहमतिको लागि बिभिन्न विकल्पमा छलफल भैरहेको दुवै दलका नेताहरुले बताएका छन् । प्रधानमन्त्री र सर्वोच्च नेतासहित सहअध्यक्ष एमालेलेर अध्यक्ष माओवादीले पाउने मोडालिटीमा छलफल भैरहेको एमालेका एक नेताले जानकारी दिए ।
उनका अनुसार केपी शर्मा ओली प्रधानमन्त्री सहित सर्वोच्च नेता हुँदा पुष्पकमल दाहाल प्रचण्ड पार्टी अध्यक्ष हुनुहुनेछ । अनि एमालेकै अर्का नेता सहअध्यक्ष बन्नेछन् । तर यो मोडालिटीमा एमाले अध्यक्ष ओलीको असहमति रहेको स्रोतले जनाएको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीले अध्यक्ष र एमालेले महासचिव लिएर भएपनि पार्टी एकता गर्नुपर्ने अर्को मोडालिटी प्रस्ताव गर्नुभएको छ । २०४७ मा तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने गौतमको प्रस्ताव हो ।
उहाँको यो प्रस्तावमा सहमति भए एकतापछि प्रचण्ड सेरेमोनियल अध्यक्ष बन्नुहुनेछ । तर उहाँको यो प्रस्तावमा माओवादीको असहमति रहेको स्रोतको भनाई छ ।
एकतापछिको अध्यक्षमै सहमति जुट्न नसक्दा सांगठनिक व्यवस्थापन कसरी गर्ने र सिद्धान्त के हुने भन्ने विषयमा कुरा अगाडि बढ्न सकेको छैन । तर एकता वार्तालाई छिटै निर्णायक मोडमा पुर्याउने तयारी भैरहेको दुवै दलका नेताहरुको दावी छ ।


यसमा तपाईको मत