• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेश २ मा भाषा विवाद चलिरहदा,महोत्तरीका साँसदहरुलाई मिथिलाको सम्मान

प्रदेश २ मा भाषा विवाद चलिरहदा,महोत्तरीका साँसदहरुलाई मिथिलाको सम्मान
रंजन भण्डारी
फागुन २ गत्ते,महोत्तरी
विगत केहि दिन देखि प्रदेश २ मा भाषा विवाद चलिरहदा महोत्तरीबाट निर्वाचित राष्ट्रिय सभा,प्रतिनिधी सभा,प्रदेश सभा सदस्यहरु तथा गाउ तथा नगरपालिका प्रमुख एवं महोत्तरीका सुरक्षा निकायलाई  मिथिला साँस्कृतिक विकास केन्द्रले सम्मान गरेको छ । मिथिलाको संस्कृती र भाषाको विकास गर्न महत्वपुर्ण भुमिका एवं निर्णयहरु गरेको भन्दै उहाहरुलाई सम्मानित गरिएको हो ।
महोत्तरीमा आयोजना गरिएको विद्यापति स्मृती पर्व तथा सम्मान कार्यक्रममा उहाहरुलाई सम्मान गर्दै मिथिलाको विकासको लागि थप जिम्मेवारी वोध गराईएको थियो ।
राष्ट्रिय सभा सदस्य वृषेश चन्द्र लाल, शशिकला दाहाल ,प्रतिनिधी सभा सदस्य डा.सुरेन्द्र यादव,प्रदेश सभा सदस्यहरु रानी तिवारी शर्मा,अभिराम शर्मा,जयनुल राईन,सुरीता साह,भरत प्रसाद साह,कौशल यादव,सरोज सिंह कुशवाहा, शारदा थापा,मन्जु यादव,वविता चौधरी,किरण यादव,जानकी शरण साह,अल्का झा र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शालिग्राम सिंह लगायत सम्मानित भएका थिए । मिथिला चित्रकला कोरिउको गमछा ओढाई उहाहरुलाई संस्थाका अध्यक्ष प्राध्यापक ताराकान्त झा,संस्थाकै संस्थापक सदस्य डा.विष्णु दाहाल र जिल्ला समन्वय समिति संयोजक सुरेश प्रसाद सिंहले संयुक्त रुपमा सम्मानित गरेका थिए ।
यता जलेश्वर नगरपालिकाले आगामी सत्रमा वडा नं. ७ मा मैथिलीमा पठन पाठन र नगरपालिकामा कामकाजको भाषाको रुपमा मैथिली राख्ने परिषदबाटै निर्णय गरेकोमा कदरपत्र प्रदान गरिएको छ ।
त्यसतै महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठ,प्रहरी प्रमुख कुवेर कडायत,शसस्त्र प्रहरी प्रमुख मुरारी वस्नेत र अनुसन्धान उप प्रमुख दिपक खडकाले मिथिलालाई सम्मान गर्दै आ आफ्नो कार्यकक्षमा मिथिला चित्रकला राखेकोमा उहाहरुलाई समेत सम्मानित गरिएको छ । यता फस्ट राईफल गणले विद्यालयहरुमा संचालन गरेको नेपाली सेवा दल(एनसिसि)का क्याडरहरुलाई मैथिली भाषाकै गितमा प्रस्तुती गर्न लगाएर नेपालमै मैथिली भाषाको सम्मान गरेकोमा गणपति कृष्ण खडका क्षेत्रीलाई समेत सम्मानित गरिएको थियो ।
कविता वाचनमा पनि मिथिलाको झझल्कोः
सम्मान कार्यक्रमसंगै भएको कविता वाचनमा मिथिलाको धर्म,संस्कृति,सामाजिकता झल्केको थियो । कविहरुले निर्वाचित प्रतिनिधीहरुलाई लक्षित गर्दै मिथिलाको विकासको लागि थप जिम्मेवार वन्न आ आफ्नो कविता मार्फत जिम्मेवारी वोध गराएका थिए । त्यसतै अवको सरकारमा महोत्तरी राष्ट्रिय अध्यक्ष स्तरका नेताहरुलाई जिताएर सम्मान गरेकोमा निर्वाचित प्रतिनिधीहरुले समेत यहाको सर्वागिंन विकासको लागि लागिपर्न भन्दै कविताकै माध्यमले आग्रह गरेका थिए ।
नाटक समेत मिथिलामयः
मिथिलावासी कामकाज वा अध्ययनको शिलशिलामा देशकै कुनै क्षेत्र वा विदेशमा गएर पनि आफ्नो माटोपानी विर्सन नहुने थिमको नाटकले दर्शक लोभ्याएको थियो । पत्रकार एवं कलाकार नविन प्रियदर्शीको मुख्य अभिनय र निर्देशनमा तयार पारिएको नाटकले जुन अवस्थामा जहा हुदा पनि आफ्नो भाषा र संस्कृतिको सम्मान गर्न र त्यसलाई विख्यात गर्न लागिपर्न उत्प्रेरित गरेको थियो । त्यसतै विद्यापतिको चर्चित गित“उगना रे कता गेला......”ले दर्शकलाई भावुक बनाएको थियो ।
संस्थाका सचिव मनोज झा मुक्ति र सदस्य प्रभु झाको संयुक्त उदघोषणमा संचालन गरिएको विद्यापति स्मृती र सम्मान कार्यक्रममा विभिन्न विद्यालयका वालवालिकाले गरेको नृत्यले समेत महोत्तरीमा प्रतिभाहरुको उलेख्य उपस्थिति रहेको दर्शकहरुले बोध गरेका थिए । साना साना वालवालिकाहरुले समेत आफ्नो नृत्य मार्फत आफ्नो सभ्यता र संस्कृति प्रस्तुत गरेका थिए ।
जलेश्वर नगरपालिका,जिल्ला समन्वय समिति,जलेश्वर भन्सार कार्यालय,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र सामी परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खुल्ला दिशामुक्त अभियान र सामी परियोजनाले वैदेशिक रोजगारी वारे स्लोगनहरु व्यानरमै लेखेर दर्शकको ध्यानाकर्षण गराएका थिए ।
 


यसमा तपाईको मत