• :
  • :
    • On Air
    • Up Next

समाचार

राष्ट्रपति चुनावमा विद्यालाई भोट हाले मधेसी नेतालाई मधेस प्रवेशमा रोक लगाउने चेतावनी

राष्ट्रपति चुनावमा विद्यालाई भोट हाले मधेसी नेतालाई मधेस प्रवेशमा रोक लगाउने चेतावनी
फागुन २७ गत्ते, जनकपुरधाम ।
सरकारमा सहभागी नहुन र राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान नगर्न जनकपुरका आन्दोलनकारी युवाहरूको एक संगठनले मधेसकेन्द्रित दलहरूलाई चेतावनी दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपाललाई चेतावनी दिँदै जारी विज्ञप्तिमा अन्यथा ती दलका नेतालाई मधेस प्रवेशमा रोक लगाइने उल्लेख छ ।
संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुन् थालेको भन्दै तराइ मधेसका युवाहरूले उनीहरूलाई खबरदारी गरेका हुन् । मधेस आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठबन्धनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनको आगुवाई गरेका युवाहरूको संगठन संयुक्त मधेस संघर्ष समितिको शनिवार बसेको बैठकले मधेसकेन्द्रित दलहरूलाई खबरदारी गर्ने निर्णय गरेको थियो ।
समितिका संयोजक धर्मेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले मधेसवादी  दलहरूलाई नेपाल सरकारसंग संविधान संशोधन कति दिनभित्र गर्ने हो त्यसको लिखित सम्झौता गर्न, जबसम्म संविधान संशोधन हुँदैन तबसम्म कुनै पनि हालतमा सरकारमा सहभागी नहुन, राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान नगर्न चेतावनी दिएको छ ।
फोरम र राजपाले भण्डारीलाई मतदान गर्ने भनेर गरेको निर्णयप्रति उनीहरूले आपत्तिसमेत जनाएका छन् ।
यसका अतिरिक्त तोकिएको मितिभित्र संविधान संशोधन भएन भने मधेसवादी नेतालाईप्रदेश प्रवेशमा निषेध गरिनेसम्मको निर्णय भएको समितिका संयोजक साहले बताए ।
शनिवार जनकपुरको जनकचोकमा बसेको उक्त बैठकमा युवाहरू लवकुमार झा, नविन यादव, अशोक साह, मुञ्जय राउत, शंकर साह, सरोज साह, मनोज भगत, पंकज साह, सन्तोषकुमार सिंह लागायतको उपस्थिति थियो ।
 


यसमा तपाईको मत