• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

विमान दुर्घटना : सरकारी तथ्यांक नै बाझियो, गृहले ५१ मृतक भन्दा प्रहरीले भन्यो-'मिलेन'!

विमान दुर्घटना : सरकारी तथ्यांक नै बाझियो, गृहले ५१ मृतक भन्दा प्रहरीले भन्यो-'मिलेन'!
फागुन ३० गत्ते,काठमाडौँ ।
युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले आजदेखि आफ्नो काम शुरु गरेको छ । 
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले युएस विमान दुर्घटना सम्बन्धमा दुर्घटना जाँच आयोगले आजैदेखि अनुसन्धानको काम शुरु गरेको जानकारी दिए  । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव आचार्यले आयोगको काम शुरु भएको र मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइले बताए  ।    
 
 
सहसचिव आचार्यका अनुसार व्यापारिक उडानमा रहेको विमान दुर्घटनाको यति अवधिमा छानबिन गरिसक्ने भन्ने विश्वव्यापी कुनै मान्यता नरहेको भएतापनि नेपालले दुई महिना ९० दिन र बढीमा पाँच महिना अवधिको समयावधि अभ्यास गर्दै आएको छ । सकेसम्म पाँच महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने भन्ने प्रारम्भिक सम्झौता भएको उनले बताए  । 
 
बंगलादेशका पर्यटनमन्त्री, परराष्ट्रराज्यमन्त्री तथा त्यहाँको नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको टोली काठमाडौँ आइसकेको र आज साँझ उनीहरुसँग छलफल भएको  सहसचिव आचार्यको भनाइ छ । छ सदस्यीय जाचँबुझ आयोगको सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी छन्  भने सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्  । 
 
बंगलादेश–काठमाडौँ नियमित उडानमा रहेको युएस बंगाल एयरलाइन्सको जहाज  अवतरणका क्रममा सोमबार अपराह्न १४ः१८ मा विमानस्थलको पूर्वपट्टि रहेको मैदानमा दुर्घटनाग्रस्त भएको थियो । 
 
क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार दुर्घटनामा परी हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए । जसमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
सरकारी तथ्यांक नै बाझियो 
 
गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज दिउँसो जारी गरेको  विज्ञप्तिमा विमान दुर्घटनामा परी ५१ जना यात्रुको मृत्यु भएको जानकारी दिए   । तर उक्त तथ्यांक नमिलेको भन्दै नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले  ४९ जनाको मात्रै मृत्यु भएको जानकारी दिए  । उनका  अनुसार उपचारार्थ घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 
हालसम्म प्राप्त विवरणअनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्राण्डी अस्पतालमा चार तथा मेडिसिटी,  न्यूरो अस्पतालमा  एक जना उपचारार्थ रहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
 
युएस बंगाल विमान दुर्घटना सम्बन्धमा जाचँबुझ आयोगको प्रतिवेदन नआईकन केही बताउन नमिल्ने भए पनि यसमा चालकको लापर्वाहीले दुर्घटना हुनसक्ने क्यानको प्रारम्भिक अनुसन्धानबाट जनाइएको छ । 
 
क्यानका महानिर्देशक सञ्जीव गौतमले दुर्घटनाबारे आयोगले विमानको प्राविधिक पक्षको प्रतिवेदन तयार गरेपछि मात्र थाहा हुने भए पनि असाधारण अवतरणले दुर्घटना भएको हुन सक्ने बताए  । उनका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । 
 
जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो । 


यसमा तपाईको मत