• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

जनकपुरमा डीजीएमटी क्रिकेट हुने

जनकपुरमा डीजीएमटी क्रिकेट हुने
चैत १४ गत्ते,काठमाडौँ ।
 

तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) वैशाख ७ देखि जनकपुरमा आयोजना हुने भएको छ । पूर्वखेलाडी दीपक गुप्ताको स्मृतिमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहनेछ । 

नेपालबाट नेपाल एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित जनकपुर, वीरगन्ज र विराटनगर टोली सहभागी हुने छन् । भारतबाट आसाम र कानपुर टोलीको सहभागिता रहने जानकारी गराइएको छ । जनकपुर टोलीमा धनुषा, महोत्तरी र सर्लाहीका खेलाडीसम्मिलित हुने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रशिक्षक नवीन सिंहले जनाए । वीरगन्ज टोलीमा कलैयाका खेलाडी रहने छन् ।
 
बाह्रबिघा मैदानमा हुने प्रतियोगिता विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पाउने छन् । विधागत उत्कृष्ट खेलाडीहरू पनि पुरस्कृत हुनेछन् ।
 
प्रतियोगिता गर्न करिब ५० लाख रुपैयाँ लाग्ने धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष एवं आयोजकका हीरा भगतले जनाए । यसअघि दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिता संयोजक सरोज मिश्राले जनाए । उनका अनुसार विकेट र मैदान बनाउन ८–१० लाख खर्च भइसकेको छ ।
 
यसअघि २०६९ र २०७१ सालमा प्रतियोगिताको दुई संस्करण भएको थियो । सो क्रममा पछिल्लो संस्करणमा आर्मीले कैलाली क्रिकेट क्लबमाथि विजय पाएको खेल ३० हजारले मैदानमा प्रत्यक्ष हेरेको आयोजकको दाबी छ । त्यसका बावजुद राष्ट्रिय स्तरमा खासै चर्चा नहुँदा यसपालि फरक रूपबाट प्रतियोगिता गर्न लागेको स्थानीय मनीष झाले बताए ।


यसमा तपाईको मत