• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

पाकिस्तानद्वारा एक अमेरिकी कुटनीतिक अधिकारीलाई देश नछाड्न आदेश

पाकिस्तानद्वारा एक अमेरिकी कुटनीतिक अधिकारीलाई देश नछाड्न आदेश
वैशाख ३० गत्ते ।
पाकिस्तानले एक अमेरिकी कुटनीतिक अधिकारीलाई देश नछाड्न आदेश दिएको छ। गत अप्रिल ७ मा एक मोटरसाइकललाई जेब्रा क्रसिङमा रातो बत्ती बलिरहेको समयमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको घटनालाई लिएर उक्त आदेश दिइएको हो।
शनिबार अमरिकाले कोल जोसेफ इम्यान्युल हललाई लिन विमान पठाएको भएपनि पाकिस्तानी सेनाले भने उनलाई सो घटनामा सफाई दिन नमिल्ने बताएको हो। यसअघि अमेरिकाले भने हल कुटनीतिक अधिकारी भएकोले कुटनीतिक प्रतिरक्षा कानुनका आधारमा उनलाई पक्राउ गर्न नमिल्ने बताएको थियो।
उक्त घटनाले दुई देशबीचमा राजनीतिक तिक्तता बढाएको छ। तर शनिबार भने दुवै देशका तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन।
अप्रिल ७ मा इस्लामावादको उत्तरी क्षेत्र दामन–ए–कोहमा भएको सो दुर्घटनामा २२ वर्षीय अतिक बैगको मृत्यु भएको थियो। सिसीटिभी फुटेजमा रातो ट्राफिक बत्तीको बेवास्ता गर्दै हलले हाँकिरहेको भनिएको सेतो ४ पांग्रे कारले तीव्र गतिमा रहेको मोटरसाइकललाई ठक्कर दिएको देखिएको छ।
उता पाकिस्तानी मिडियामा प्रशारण भएको ‘हलले मादक पदार्थ सेवन गरी सवारी हाँकेको’ भन्ने रिपोर्टलाई भने पाकिस्तानस्थित अमेरिकी राजदुतावासले खण्डन गरेको छ। मृतक युवकका बुवाले भने उनलाई इस्लामावाद उच्च अदालतमा उपस्थित भएर बयान दिन आग्रह गरेका छन्।
शुक्रबार मात्रै उच्च अदालतले कोल हललाई कुटनीतिक प्रतिरक्षा नमिल्ने स्पष्ट पारेको थियो। त्यस्तै उनलाई यात्रामा पूर्ण प्रतिबन्ध लगाउँदै कालो सूचीमा राखिएको छ, जसको अर्थ विमानस्थलबाट उनलाई देश छोड्न स्वीकृति मिल्नेछैन।
गत जनवरी १ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकाले पछिल्लो १५ वर्षमा ३३ बिलियन अमेरिकी डलर पाकिस्तानलाई सहयोग गरेको तर पाकिस्तानले भने झुट र धोकाबाहेक केही नदिएको’ भन्दै ट्विट गरेदेखि वासिंगटन र इस्लामावादबीचको सम्बन्धको दरार प्रकाशमा आएको थियो। पाकिस्तानमा सक्रिय आतंकवादी संजालको गतिविधिविरुद्ध काम गर्न असफल भएको भन्दै जनवरीमा नै अमेरिकी सरकारले पाकिस्तानलाई गर्दै आएको सैन्य सहयोगमा कटौती गर्ने घोषणा गरेको थियो। 
उता पाकिस्तानले भने आफुमाथिको आरोप सरासर गलत भएको भन्दै अमेरिकालाई आगामी दिनमा गुप्तचरबाट प्राप्त गोप्य जानकारी उपलब्ध नगराउने बताएको थियो।
 


यसमा तपाईको मत