• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले भने– धेरैको नाम आउन बाँकी छ, यो त सुरुवात मात्रै

सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले भने– धेरैको नाम आउन बाँकी छ, यो त सुरुवात मात्रै
वैशाख ३१ गत्ते, पोखरा । 
गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्र माफियाको पन्जामा रहेको बताएका छन्। ‘देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा छ,’ थापाले भने, ‘ती माफियाले अर्बौंको राजस्व छली गरेका छन्।’
पोखरामा सोमबार भएको प्रदेशस्तरीय गोष्ठीमा गृहमन्त्री थापाले देशको सुशासन तथा सुरक्षा कमजोर हुनुमा सिन्डिकेट प्रणाली पनि कारक रहेको भन्दै अन्त्य गर्न सरकारले कदम चालिरहेको बताए।
बसको सिन्डिकेट अन्त्यपछि ट्याक्सी, ट्रक लगायत यातायातका एकाधिकार प्रवृत्तिको अभियानमा सरकार दृढतापूर्ण तरिकाले लागेको उनले जानकारी दिए। देशमा विकास, शान्ति तथा समृद्धि र सुशासन व्यवस्थाको स्थापना गर्न भ्रष्टचारलाई समेत हटाउनुपर्नेमा उनको जोड थियो।
सिन्डिकेटकै कारण कोही टाट पल्टने र कोही मोटाउने हुने हुँदा सबै क्षेत्रमा खुल्ला प्रतिस्पर्धा हुनुपर्ने थापाले बताए। ’सिन्डिकेट पक्षधर यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाताको पैसा राज्यको हुनेछ,’ उनले भने, ’यातायात व्यवसायलाई गैरसरकारी बैंक बनाएर कामएको पैसा अवैध हो।’
भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका बेला स्वतन्त्र मधेसका ब्यानरहरु देखाउनेहरु राष्ट्रिय अखण्डता विरोधी भएको उनको भनाइ थियो।
गृहमन्त्री थापाले मदिराकै कारण घरेलु हिंसा बढेकाले त्यतातर्फ कदम चाल्नुपरेको भनाइ राखे। उनले भने, ‘मदिरा निषेध नै त गर्ने होइन तर व्यवस्थित गर्ने हो।’ 
आइतबार विभिन्न ठाउँमा भेटिएका बमका प्रसंग निकाल्दै गृहमन्त्री थापाले कसैलाई नछाड्ने र कानुनको दायरामा ल्याइछाड्ने बताए। देशमा स्थायी सरकार आइसकेकाले कुनै पनि समूहले विकासमा अवरोध ल्याउन नसक्ने थापाको भनाइ छ।
सुन तस्करी प्रकरणको विषयमा बोल्दै उनले अझै धेरै विवरण आउने बताए। ‘यो त सुरुवात मात्र हो। अझै धेरैको नाम आउन बाँकी छ,’ उनले भने। 
 


यसमा तपाईको मत