• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

पानमुनजोममा दुई कोरियाको मन्त्रीस्तरीय बैठक भोलि, शान्ति सम्झौता कार्यान्वयनको सुरुवात

पानमुनजोममा दुई कोरियाको मन्त्रीस्तरीय बैठक भोलि, शान्ति सम्झौता कार्यान्वयनको सुरुवात
जेठ १ गत्ते, सिओल ।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमा क्षेत्रको गाउँ पानमुनजोममा बस्ने भएको छ। 
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो। 
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरेलगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको बताइएको छ। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ। त्यसअघि हुने उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठकलाईसमेत महत्वपूर्ण रुपमा लिइएको छ। 
सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा हेरिएको छ। उत्तर कोरियाली नेता किम जोङ उन पनि केही समय अघि मात्र चीन पुगेका थिए। उनले गएको दुई महिनामा २ पटक चीनको भ्रमण गरिसकेका छन्।
गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो। 
उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अन्य सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको छ। 
उक्त बैठक मन्त्रीस्तरमा हुने बताइएको छ। दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउने छन्।
विश्वकै चासो र प्रतिक्षाको अन्त्य भएको भन्दै सिंगापुरमा हुने अमेरिका–उत्तर कोरिया वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा पनि गरिएको छ। 
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ। यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ। 
सो वार्ताको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेताहरुसँग फोनवार्ता गरेका थिए। उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग पनि गत आइतबार फोनवार्ता भइसकेको छ। 


यसमा तपाईको मत