• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

एसियाली खेलकुद स् ६ खेलको तयारी विदेशमा, थप २ टिम जाने तयारीमा

एसियाली खेलकुद स् ६ खेलको तयारी विदेशमा, थप २ टिम जाने तयारीमा
 
साउन ८ गते, काठमाडौं ।
आगामी भदौ २ देखि इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले २८ खेलमा भाग लिँदैछ।
प्रतियोगिताको तयारीका लागि सबै खेलको तयारी विभिन्न स्थानमा भइरहेका छन्। अधिकांस खेलको तयारी स्वदेशमा भए पनि ६ खेलको तयारी भने विदेशमा भइरहेको छ। थप २ टिम पनि अभ्यासका लागि वैदेशिक भ्रमणमा जाने तयारी गरिरहेका छन्।
तेक्वान्दो– दक्षिण कोरिया
एसियाली खेलुकदमा नेपाललाई पटक–पटक पदक दिलाएको तेक्वान्दोले यसपटकको तयारी दक्षिण कोरियामा गरिरहेको छ। नेपाली टिम गत वैशाख तेस्रो साता कोरिया प्रस्थान गरेको थियो। दक्षिण कोरियाको सिओलमा ५ पुरुष र ५ महिला गरी १० खेलाडीले प्रशिक्षण गरिरहेका छन्।
पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भूपेन श्रेष्ठ र अनोज पुजारी छन्। महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन्। प्रशिक्षकमा संगीना वैद्य छिन्। उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्युटमा प्रशिक्षण गरिरहेका छन्।
बक्सिङ– थाइल्यान्ड 
एसियाली खेकलुदको तयारीका लागि नेपाल राष्ट्रिय बक्सिङ टिम गत असार दोस्रो सातादेखि थाइल्यान्डमा छ। प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा पनि सहभागिता जनाएको थियो।
नेपाली खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा छन्। पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घलेले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठले ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।
फुपुल्हामू– जापान
सागकी स्वर्ण विजेता जुडो खेलाडी फुपुल्हामू खत्रीले एसियाली खेलकुदको तयारी जापानमा गरिरहेकी छिन्। उनी गत वैशाखमा जापान गएकी हुन्। फुपु ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत २ वर्ष ३ महिनाका लागि जापान बस्नेछिन्। फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छिन्। १२औं साग स्वर्णधारी एवं रियो ओलम्पिकमा सहभागिता जनाइसकेकी फुपु जापानबाटै इन्डोनेसिया प्रस्थान गर्ने्छिन्।
पेनकेक सिलात– सिंगापुर
एसियाली खेलकुदमा पेनकेकमा नेपालबाट विवेककुमार विकले ६०–६५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दैछन्। हाल उनी प्रशिक्षणका लागि सिंगापुरमा छन्। एसियाली पेनकेक महासंघका अध्यक्ष एवं विश्व पेनकेकका निर्देशक सिंगापुरका शेख अलाउद्दिनको सहयोगमा विकले त्यहाँ प्रशिक्षणको अवसर पाएका हुन्। यो खेलमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
स्केटबोर्ड– हङकङ
एसियाली खेलकुदमा नेपालले स्केटबोर्डमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। नेपालका तर्फबाट फ्रि स्टाइल स्ट्रिटमा नेरिश थापाले प्रतिस्पर्धा गर्दैछन्। उनी हङकङमा हुर्किएर त्यहाँको जुनियर च्याम्पियनसिप जितेकाले नेपालले स्केटबलमा राम्रो प्रदर्शनको आसा गरेको छ। नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार उनलाई पोखरामा भएको दोस्रो राष्ट्रिय च्याम्पियनसिपबाट छनोट गरिएको हो। थापा हङकङमा बस्ने र त्यहाँ प्रशिक्षणका लागि चाहिने ट्रयाक उपलब्ध हुने भएकाले सजिलो भएको खनालको भनाइ छ।
टेबलटेनिस– भारत 
टेबलटेनिस टिमले एसियाली खेलकुदको तयारी भारतमा गरिरहेको छ। यसै साता  ५ खेलाडीसहित ७ सदस्यीय टिम तयारीका लागि भारतको नयाँ दिल्ली गएको थियो।
पुरुषमा दीप साउन, श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल छन्। महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन्। दीप साउन भने साउन १३ मा मात्र दिल्ली जानेछन्। नेपाली टिमले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्नेछन् । त्यहाँबाट टिम भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ।
कराते जापान जाने तयारी
यता, नेपाली कराते टिम जापान जाने तयारी गरिरहेको छ। यसअघि पोखरामा तयारी गरेको नेपाली टिम वैदेशिक प्रशिक्षणका लागि काठमाडौं फर्किएको थियो। तर, जाने मिति अहिलेसम्म टुंगो लागिसकेको छैन। प्रशिक्षक दीपक श्रेष्ठले भने, ’जापान जाने भनिए पनि अहिलेसम्म टुंगो लागिसकेको छैन।’ यता, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्ट करातेलाई वैदेशिक प्रशिक्षणमा पठाउन समझदारी भइसकेको बताउँछन्।
यसअघि करातेका खेलका ८ जना खेलाडीले जेठ १ देखि पोखरामा प्रशिक्षणमा गएका थिए। एसियाली खेलकुद खेल्ने कराते खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चञ्चला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन्।
 
फुटबलको थाइल्यान्ड जाने तयारी
नेपाली फुटबल टिमले एसियाली खेलकुदको अन्तिम तयारी थाइल्यान्डमा गर्न प्रक्रिया अघि बढाइरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमलाई साउन दोस्रो साता थाइल्यान्ड पठाउन तयारी गरिरहेको छ। एन्फा प्रवक्ता किरण राईका अनुसार नेपाली टिम आगामी साउन १५ देखि १९ भित्रमा थाइल्यान्ड पुग्नेछ। त्यहाँ पुगेपछि नेपालले थाइल्यान्डको टिमसँग अभ्यास खेल खेल्ने राईले बताए।
यसअघि एसियन गेम्समा समूह ’डी’ मा नेपाल, जापान, भियतनाम र पाकिस्तान एकै समूहमा परेका थिए। तर, केही राष्ट्रको सहभागी ढिलो गरी निश्चित भएपछि फेरि ड्र गरिने भएको छ। ’एसियन गेम्समा फुटबलको ड्र फेरि गरिने भएकाले हाम्रो अभ्यास खेल पनि प्रभावित भएको छ। फेरि गरिने ड्रमा नेपाल र थाइल्यान्ड एउटै समूहमा नपरे यू–२३ टिमसँगै २ वटा अभ्यास खेल हुनेछ। नत्र हामी त्यहाँको क्लबसँग अभ्यास खेल खेल्नेछौं, ’ राइले नेपाल लाइभसँग भने।
 


यसमा तपाईको मत