• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

पर्साको ठोरी नाकाबाट ३९ चेलीलाई उद्धार

पर्साको ठोरी नाकाबाट ३९ चेलीलाई उद्धार
 
साउन १० गते, पर्सा । 
पर्सा जिल्लाको ठोरी नाकाबाट गत आर्थिक वर्षमा भारत लाँदै गरिएका ३९ चेलीलाई उद्धार गरेका छन् । कुल ३ हजार १ सय ९६ चेलीलाई नाकामा सोधपुछ गरिएकामा जोखिममा पर्न सक्ने अवस्थाका ३९ चेलीलाई उद्धार गरी फर्काइएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी सहायक एलिसा श्रेष्ठले बताइन् ।
उद्धार गरिएका मध्ये चितवन, पर्सा, सिन्धुपाल्चोक, नवलपरासी जिल्लाका बढी छन् । तिनमा १८ देखि २५ वर्ष उमेरका युवती धेरै छन् । उनीहरू बढीजसो महतो, विश्वकर्मा, तामाङ आदि जातिका छन् ।
ठोरीस्थित माइती नेपाल शाखामा गत आवमा घरेलु हिंसाका १५ निवेदन परेकामा १४ चेलीलाई शाखाले आवश्यक कानुनी सहायता पाउन सहजीकरण गरेको थियो । शाखामा एक दर्जन चेली हराएर खोजतलासको उजुरी परेकामा २ जना फेला पारी परिवारजनको जिम्मा लगाइएको छ ।
१० अझै हराइरहेका छन् । वीरगन्ज तथा अन्य मुख्य सहरी नाकामा माइती नेपाल र सुरक्षाकर्मीको निगरानी बढी हुने भएकाले चेलीबेटीलाई भारत लग्न यो नाका प्रयोग हुँदै आएको थियो । ठोरीसम्म नारायणघाट हुँदै राजधानी तथा पोखराको बस सेवा जोडिएकाले चेलीबेटीलाई भारत लैजान सहज हुन्थ्यो । ठोरीसँग जोडिएका भारतीय बजार भिखनाठोरी भारतीय रेल सञ्जालसँग जोडिएको छ । त्यहाँबाट नरकटियागन्जसम्म सोझो रेल सेवा र बस सेवा पनि सञ्चालनमा रहेको छ ।
नरकटियागन्जबाट भारतका ठूला सहरसम्म चल्ने रेल सेवाको पहँच भएकाले पनि रक्सौलको तुलनामा यो नाकाबाट चेलीबेटीलाई भारत लग्न सहज हुने गरेको थियो । बेचबिखनमा सक्रिय गिरोहले लामो समयदेखि जिल्लाको यो दुर्गम नाका चेलीबेटीलाई सीमा पार गराउन प्रयोग गर्दै आएको पाएपछि माइती नेपालले २०७० साउनमा शाखा स्थापना गरी सेवा सुरु गरेको हो ।
 


यसमा तपाईको मत