• :
  • :
    • On Air
    • Up Next

समाचार

अर्तीको आधार

अर्तीको आधार
बृषेशचन्द्र लाल
 
काठमाडौँ — अरूमा उपदेश ठेल्नु र त्यसरी उपदेश भर्न भएभरका साधन प्रयोग गर्नु हाम्रो मौलिक परम्परा हो । यस परम्परालाई वंशाणुगत हस्तान्तरणले झन्झन् सुदृढ गर्दै आएको छ । हाम्रा महारथिहरूलाई यसमा महारत हासिल छ ।
 
 
 
प्राचीन युगमा ऋषि, महर्षि, देवर्षि र राजर्षिले उपदेश दिँदै समाज सञ्चालनमा योगदान गरे । समाजले अनुसरण गर्‍यो र सामाजिक गतिका विभिन्न दिशा बने । तर त्यसमा एउटा भित्री तत्त्व हुने गथ्र्याे– उपदेशकले उपदेशसँग आफैंलाई ढालेर आफूले भन्ने वाक्यसँग तादात्म्य मिलाउँथे । उपदेशक मात्रै होइन, बहसमा पनि शास्त्रार्थी स्वयंको चरित्र तदनुकूल हुनु आवश्यक थियो ।
 
 
विदेह राजा जनकको ब्राह्मण्य आयोजनमा गार्गी वाचकन्वी र ऋषि याज्ञवल्क्यको प्रेम र सत्यको खोजसम्बन्धी बहस प्राचीन दर्शनशास्त्रको महत्त्वपूर्ण अंग हो । यी सब उल्लेख गर्नुको तात्पर्य उपदेशकको उपदेशसँगै हुनुपर्ने सूक्ष्मांशप्रति ध्यानाकर्षण हो । यस्तो उपस्थिति रहेन भने अर्तीको अर्थ रहँदैन । कुरो ठीक लागे पनि त्यसले सही परिणाम दिन सक्दैन । सन्देशले नकारात्मक स्वरूप बोक्छ ।
 
यस भूमिमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, रामराजा प्रासाद सिंहजस्ता ज्ञानी भए । उहाँहरू उपदेशकको भूमिकामा कहिल्यै आउनुभएन। संघर्ष र संघर्षको व्याख्याताको भूमिका मात्र अपनाउनुभयो । तिनका शब्दहरू अहिले पनि धेरैका लागि एउटा संस्था र जीवनपथको सारथि हुन् । यी सबैले आफ्नो मान्यताका लागि जीवन अर्पित गरे । हरेक खोला तर्दा काँधमा रहेका मान्यता र संघर्षका सवालमध्ये केहीकेही बिसाउँदै अन्तमा खाली हात जय जगन्नाथले उफ्रने कोसिस गरेनन् । सयौंले उनीहरूको वचनको मानका लागि ज्यान दिए । परिवर्तनका लागि ऊर्जा प्रदान गरे । 
 
हाल हाम्रा अगाडि खडा रहेका उपदेशकहरूको पंक्ति आवश्यक सूक्ष्मांशले लैस छ ? अथवा, तिनले मेरो पैतृक परम्परा भन्दै टीका थापी राम्रो आसन पाउनेबित्तिकै उपदेश मात्रै दाग्ने गरेका छन् ?ठूलो पंक्ति छ– नेता, विश्लेषक, पत्रकार, नागरिक समाजको । तिनले नेपाल र नेपाली जनताको अवस्थाबारे बोल्छन्, लेख्छन् । नयाँ–नयाँ प्रकाशन आइरहेका छन् । मेरो प्रश्न छ, ती सबको सारमा आफूलाई तटस्थ देखाउने केही बुट्टा जोडेर खास समुदायको प्रशंसा पाउने अभिलाषा मात्र किन निहित छ ?
 
 
कुनै क्षेत्र वा भूमिमा घुमेर–रमाएर मात्र वा त्यस क्षेत्रको मनलाग्दो सञ्चार सन्दर्भमा उल्लेख्यप्रितको उद्धरणले न वस्तुस्थितिको सही बोध हुन्छ न सही समाधानको बाटो कोर्न सही योगदान हुन्छ । हाम्रो देशमा आरोहअवरोह खेप्दै मधेसीलगायत सीमान्तकृत समुदायको आन्दोलन चल्यो । यो यस्तै समस्या भोगिरहेका विश्वका अन्य समाजका लागि उदाहरणीय छ । यस्तो सशक्तताका साथ निरन्तरता बिरलै हुन्छन् । आन्दोलन र आन्दोलन हाँक्नेमा धेरै खोट छन् तर खोट र चारैतिरको अवरोध, दुवैको मुकाबिला गर्दै यो निरन्तर छ । पात्र आउलान्, जालान् । यस निरन्तरताले परिणाम लिई छाड्नेछ ।
 
सत्ताको धुरी र संरक्षणले इतिहासका वास्तविकता विगतमा बदलिएर समयले दिशा बदल्न बाध्य भएका थुप्रै उदाहरण छन् । इतिहासको वास्तविकता केही भाषण, प्रकाशन, स्मृति वा उद्धरणले दबाउन सक्दैन । समयले इतिहासलाई सुरक्षित राख्न र हरेकको लेखाजोखा गर्न नयाँ उपकरण विकसित गरिसकेको छ । सामान्य उदाहरण सामाजिक सञ्जाल हो ।
 
लाख कमी भए पनि यसले समयका झलक सुरक्षित राखिराख्ने ग्यारन्टी दिएको छ । कसले कहाँ के कुरा गरे, कसरी को सञ्चालित भए भन्ने यथार्थका साथै घटेका घटना सबै सुरक्षित रहनेछन् । अन्वेषणलाई गति दिने घटना र घटनाका कारण हुनेछन् । कारण विद्यमान नहुन्जेल कुनै घटना हुँदैन र ध्यानको मूल बिन्दु पनि त्यही हो ।
 
बीपी कोइराला राष्ट्रवादी थिए, थिएनन् ? के उहाँको सोच अहिले राष्ट्रवादको ढ्वाङ फुक्नेहरूकै जस्तो थियो ? उहाँमाथि दबाब निश्चय थियो तर जिम्मेवारीमा हुँदा उनले उत्तर र दक्षिणसँग नेपालको निम्ति सन्तुलनकारी सिद्धान्त आगाडि सारे । त्यसलाई समयसापेक्ष रूपान्तरणका साथ आगाडि बढाउनुपरेको छ । एउटा मूल प्रवाहको उदाहरण यो हुन सक्छ । भंगालोको प्रवाहअनुसार घरिघरि बोली फेर्नेहरू अवसरवादका ह्रस्व वा दीर्घ मात्रा मात्र हुन् ।
 
पछिल्लो संविधानसभाको अवधिमा मानका लागि संवैधानिक संवाद र राजनीतिक सहमति समितिको सभापति रहेका महारथिले भर्खरै एउटा मञ्चबाट ठूलो खुलासाको भ्रम दिएका छन् । उनको भनाइ सत्य हो भने यस्तो ढ्वाङ त्यो मञ्चभन्दा पहिले नफुकिएको होइन । सत्य होइन भने उनको त्यो राग अहिलेको सत्तापथप्रति बन्धन हो । अथवा, मधेसीलगायतको सीमान्तकृत समुदायको अध्याय अन्तरालमा देखिएको विजय उत्सव–उत्साहमा सहभागिताको प्रयत्न हो । हुन सक्छ, संविधान निर्माणमा उनको महत्त्वपूर्ण भूमिका नदेखिएकाले देखाउने प्रयास हो ।
 
पहिलो संविधानसभाबाट संविधान निर्माणको अन्तिम क्षणमा सरकारको नेतृत्वमा उहाँ हुनुहुन्थ्यो । त्यतिबेला सहमति सम्भव थियो । नेपालमा घटित सबै पर्वभन्दा बढी रगत बगाएर मधेसी, आदिवासी जनजाति सहितका एजेन्डालाई लुतोझैं चिलाएर बिसाउनेहरूले उफ्री–उफ्री संविधानको उत्सवगाथा गाउन मिल्दैन भन्ने छैन, गाउन मिल्छ तर, उहाँहरूले नेतृत्व गरेको युद्धमा सबभन्दा बढी रगत सीमान्तकृतको थियो जसप्रति धोका भयो । गणतन्त्र त्यस युद्धको मात्र परिणाम होइन ।
 
गणतन्त्रको लागि त्यस युद्धले उपलब्धिमूलक योगदान अवश्य गर्‍यो, यद्यपि निर्णायक हुन सकेन । सशस्त्र संघर्षलाई १२ बुँदेतिर मोड्दा कसैलाई कुनै आपत्ति भएन, सराहना र स्वागत गरे । त्यस योगदानको शंख फुक्न मिल्छ । तर त्यस ध्वनिमा संविधान निर्माणमा एजेन्डा छाड्नुपरेको आत्मानुभूति भने हुनुपर्छ । 
 
किन भयो नाकाबन्दी ? कसले गर्‍यो ? भारतीय सुरक्षा फौज वा त्यहाँका जनताले ? नेपाल सरकारले कसलाई गोली हान्यो र मार्‍यो ? भारतीय सुरक्षा फौज वा त्यहाँका नाकाबन्दीकारीलाई ? मैले मान्नुपर्ने महारथिसँग यी जिज्ञासा राख्छु तर उत्तर हो भनी आउँछ भने त्यसको अर्थ हो मधेस यो देशको भूमि होइन, मधेसी यस देशका जनता होइनन् । त्यसपछिको सन्देश सुखद छैन । अर्कोतिर फर्केर आँखा तल पारेर ‘मधेसीले निर्देशित भएर नाकाबन्दी गरे’ भन्ने उत्तर आउला ।
 
के कारणले मधेसी यस्तो निर्देशनको भुमरीमा फसे ? के उहाँ त्यस कारणलाई फजुल मान्नुहुन्छ ? आफ्नै भूमिको नैसर्गिक अधिकार निम्ति भएको आन्दोलनलाई विदेशीको आन्दोलन भन्नेहरूलाई पछिसम्म क्रान्तिकारी भन्न सकिनेछैन । संविधानलाई अस्वीकार गर्न शान्तिपूर्ण प्रदर्शनमा रहेका मधेसीमाथि निर्मम प्रहार गरियो, मारिएकाहरूसँग राक्षसी र आदिमखोरिताको परिचय दिइयो । त्यसले मधेसीहरू सीमातिर धकेलिए । आफ्नै देशमा कराउन नपाएर गोली खानुपर्ने स्थिति भएपछि सुरक्षाको आशाको किरणतिर दौडे, पछि पनि दौडन्छन् । महारथिहरूले यसबाट अर्ती लिनु बेस हुनेछ । इतिहासले यसलाई उपयुक्त स्थान दिइसकेको छ । पुछारमा यहाँहरूको नाद पनि रहिरहन्छ । 
 
१ मे १८८६ सम्झौं । सिकागोमा श्रमिकले ८ घण्टा कामका लागि हडताल गरे । पुलिसले गोली चलायो । अनगिन्ती मरे । श्रमिक नेताहरू गिरफ्तार भए । ४ जनालाई झुन्ड्याइयो । अन्य सहरमा पनि हडतालीमाथि गोली चलाइयो । श्रमिकको जायज मागका लागि भएको हडतालबारे सरकार र त्यतिखेरका पिछलग्गुले के भने ? तर, आज विश्वभरि १ मे श्रमिक दिवसका रूपमा सम्मानित छ ।
 
के हो धर्मनिरपेक्षता ? धार्मिक स्वतन्त्रता भनेको के हो ? अन्तर के हुन् ? यसमाथि बहस देखिएको छैन । मलाई दुवैमा फरक थाहा छैन । धर्मलाई अफिम र राज्यको धर्म हुँदैन भन्ने मान्यता राख्नेले कुनै देश धर्मसँग सम्बन्धित यो ऊ मान्यता राख्छ भन्नु उचित छैन । भारतले आफूलाई धर्मनिरपेक्ष भन्छ तर धार्मिक स्वतन्त्रता संरक्षण गर्छ । धर्मका नाममा गरिने आतंकवाद र आश्रम खोलेर गरिने अपराधको एकसाथ मुकाबिला गर्दै छ । 
 
हामीले लोकतान्त्रिक गणतन्त्रमा राज्यको धर्म हुँदैन, त्यसकारण धार्मिक आधारमा भेदभाव हँुदैन र सबै समान रूपमा संरक्षित हुनेछन् भने पनि हुन्थ्यो । किन धर्मलाई अफिम मान्नेहरू कथास्थल, बाबास्थल, धार्मिक भेलामा झुम्मिने गर्छन् ? अर्को प्रश्न, के मधेसका हिन्दु, मुस्लिम, दलित, थारू संविधानबाट धर्मनिरपेक्षता हटाउन आन्दोलनमा उत्रेका थिए ? होइन भने यस्ता उपदेश अपमानजनक हुन् । मधेसीहरू सम्मानजनक रूपमा यी उपदेश जस्ताको त्यस्तै सिधै फर्काउँछन् ।
 
मधेसीहरू आफ्नो र आफूजस्तै सीमान्तकृतका समस्याको निदान चाहन्छन् । ठूला समस्या, देश सञ्चालन र त्यसको ठेक्काका लागि दिल्ली, बैंकक, हङकङ परिक्रमा गर्दैनन् । अरूलाई अर्ती दिनेहरूले पहिले आफ्नै आङको एक्जिमा हेर्नुपर्छ । आफ्नो धार र आधार अध्ययन मनन गर्नुपर्छ । अर्ती दिन आफूलाई तयार गरिसकेपछि मात्र प्रयोगमा उत्रिनु ठीक हुन्छ । अर्ती सुनाइनेलाई सबैको हिसाब ज्ञात छ ।
 
 
लेखक राष्ट्रिय सभाका सदस्य र राजपा नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।


यसमा तपाईको मत