• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

शोभराजको उपचारमा राज्यको १४ लाख खर्च

शोभराजको उपचारमा राज्यको १४ लाख खर्च
 
आश्विन २४ गत्ते,काठमाडौं ।
 
अफगानिस्तानमा चोरी आतंक मच्चाइरहेका थिए, चार्ल्स शोभराज। 
 
भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। 
 
तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। 
 
ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे।
 
 
तिनै पर्यटकको पासपोर्ट बोकेर नेपाल छिरेका थिए शोभराज। त्यसअघि उनले भारत र मलेसियामा आपराधिक सञ्जाल बिस्तार गरिसकेका थिए।
 
 
उनले विभिन्न देशमा गरी २० भन्दा बढी व्यक्तिको हत्या गरेको बताइन्छ।
 
 
बिकिनी किलरका रूपमा कुख्याती कमाएका चार्ल्स शोभराज अहिले केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताइरहेका छन्। 
 
२०६० सालमा काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो। 
 
अहिले उनको धेरैजसो समय अस्पताल आवतजावतमै बित्ने गरेको छ।
 
 
मुटुको बिरामी शोभराजले मुटुको शल्यक्रियासमेत गरिसकेका छन्। मुटुको भल्वले कामै गर्न छाडेपछि एउटा भल्व फेरिएको छ भने अर्कोको उपचार भइरहेको छ। 
 
उनी दमका रोगी पनि हुन्। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।
 
उमेरले पनि सात दशक पार गरिसकेका शोभराज बिरामी परिरहनु सामान्य नै भएको जेलर वेदनिधि अधिकारी बताउँछन्। 
 
२०६० सालदेखि बन्दी जीवन बिताइरहेका शोभराजको उपचार खर्चका लागि राज्यले ठूलै लगानी गर्नुपरेको छ।
 
 अहिलेसम्म राज्यबाट मात्रै १४ लाख रुपैयाँभन्दा बढी उपचारमै खर्च भइसकेको जेलर अधिकारीले बताए। उनले बन्दी जीवन बिताएकै १४ वर्ष पुगिसकेको छ। 
 
यसरी हेर्दा शोभराजको उपचारका लागि राज्यले हरेक वर्ष एक लाख रुपैयाँको दरले खर्च गर्दै आएको छ।
 
यसबाहेक अन्य निजी अस्पतालमा शोभराजकै आग्रहमा पनि उपचार भइरहेको छ। निजी अस्पतालको उपचार खर्च भने शोभराज आफैंले तिर्दै आएका छन्। 
 
निजी अस्पतालका लागि राज्यले तिरेभन्दा झन्डै दोब्बर रकम शोभराज आफैंले तिरेको प्रशासनले जनाएको छ। 
 
अहिले भने शोभराजको स्वास्थ्य अवस्था ठिक भएको कारागारले जनाएको छ। उनी अन्य कैदीसँग खासै बोल्दैनन्। 
 
सोधेको कुराको जवाफ मात्रै फर्काउँछन्।
 


यसमा तपाईको मत