• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

छोरीको नाममा २७ हजारको मुद्धती खाता

छोरीको नाममा २७ हजारको मुद्धती खाता

मलंगवा, असोज २८ गते । “शिक्षित बेटी (छोरी), बालिग पुतोह (बुहारी) स्वच्छ र समुन्नत” गाउँपालिका भन्ने मूल नाराका साथ सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट जन्म भएका सबै बालिकाको नाममा मुद्धती खाता खोली २७ हजार जम्मा गर्ने भएको छ ।

०७५ साउन १ गते देखि जन्म भएका बालिकाको नाममा गाउँपालिकाले २० हजार, अभिभावकले ५ र खाता खोलिने नेपाल बंगलादेश बैंक लिमिटेडले २ हजार गरि २७ हजारको मुद्धति खाता खोलिने गाउँपालिकाले जनाएको छ ।

आइतवार चन्द्रनगर गाउँपालिका २ बबरगंजमा आयोजना गरिएको उद्धघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र महतो र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गनाले सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

खात सन्चालनको लागि बालिकाको अभिभावकले निजी जग्गा वा गाउँपालिकाले तोकेको सार्वजनिक जग्गामा ५ वटा बिरुवा रोप्नु पर्ने र बालिकाको जन्म भएको  ३५ दिन भित्र जन्म दर्ता गराउनु पर्नेछ र विद्यालय शिक्षा पुरा नगरेको तथा २० वर्ष भन्दा कम उमेरमा बिहे गरेमा खातामा जम्मा भएको रकम नपाउने शर्त पनि अगाडी सारेको छ ।

छोरीलाई शिक्षित, बालिग उमेरमा बिबाह र गाउँपालिकालाई हराभरा बनाउनका लागि यस्तो अभियान गाउँपालिकाले ल्याएको गाउँपालिकाका कार्यकारी अधिकृत टेक प्रसाद भट्टराईले बताएका छन् ।

‘अभियानले छोरीलाई शिक्षत बनाउने र कम उमेरमा बिबाह हुने प्रथालाई रोक्ने छन्’, भट्टराईले भने, ‘साथै २० वर्षपछि पैसा निकाल्दा बिहेबारी र पढाई लेखाईमा पनि सहयोग पुग्छ ।’

 जम्मा भएको रकममा बैंकले ८ प्रतिशत ब्याज दिने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ । समयाबधि पुगेपछि एकमुष्ट रकम बैंकले ब्याज सहित अभिभावकलाई दिने छ । खाता संचालन नहुदै खाताबाला बालिकाको मृत्यु भएमा गाउँपालिकाको निर्णय र सिफारिश अनुसार अभिभावकलाई हस्ताण्तर गरिने भट्टराईले बताए ।

गाउँघरमा छोरीलाई नपढाउने र कम उमेरमा बिहे गर्ने परम्परालाई तोड्नका लागि यस्तो नीति गाउँपालिकाले लागु गरेको अध्यक्ष महेन्द्र महतोले बताए ।

 

‘अहिले बालिकाहरुलाई कम पढाई कमै उमेरमा बिहेबारी हुने परम्पराले हाम्रो समाज पछाडी परेको छ’, महतोले भने, ‘छोरालाई राम्रो विद्यालयमा पढाउने र छोरीलाई घरमा काम लगाउने संस्कार बढ्दो रुपमा मधेशको ग्रमिण क्षेत्रमा छ ।’ गाउँपालिकाले सानो प्रयास गरेको छ ।

 

यस्तो कुसंस्कारलाई हटाउनका लागि हामी सबै मिलेर लाग्यो भने मात्र हट्ने उनको कथन थियो । गाउँपालिकाले गरेको यस्तो निर्णयले छोरी जातीको विकासमा टेवा पुग्ने चन्द्रनगर २ बबरगंजकी लिलिया देवी सिंहले बताईन् ।

शिक्षाको अभावमा छोरी जातिले दुःख पाउने र कम उमेरमा बिबाह गर्दा शरीर जोखिममा पर्ने अवस्थालाई यस्तो अभियानले निरुत्साहित पार्ने सिंहले बताईन् । गाउँपालिकाले गरेको निर्णय स्वाग्त योग्य छ । तर, दहेज प्रथा हट्यो भने छोरी जातीमाथि हुने हत्या हिसां अझै कम हुने उनको कथन थियो ।

उद्धघाटन कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, प्रदेश नं. २ का मन्त्री जितेन्द्र सोनल, रामनरेश राय, नवलकिशोर साह, अभिराम झा लगायतको उपस्थिति रहेको थियो ।

 



यसमा तपाईको मत