• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

सर्लाहीको दोहोरो झडप प्रकरणःपरिवारले शव बुझेन, गाउँ अझै अशान्त

सर्लाहीको दोहोरो झडप प्रकरणःपरिवारले शव बुझेन, गाउँ अझै अशान्त
कार्तिक १७ गत्ते,जनकपुरधाम ।
 
रामनगर–४ मा गत मंगलबार भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। 
 
दोषीलाई कारबाही नभएको भन्दै परिवारले मृतकको शव बुझेका छैनन्।
 
घटनाको चार दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेको रामनगर– ४ का वडा अध्यक्ष रामनरेस महतोले आरोप लगाए। 
 
वडा अध्यक्ष महतो पनि उक्त घटनामा घाइते भएका छन्।
 
जिल्लाको दक्षिण पश्चिम क्षेत्र रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार एमाले र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको थियो। झडप हुँदा गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको छ।
 
घटनामा प्रेमनारायण महतो, श्रीनारायण महतो, भोजिन्द्र महतो, दिवेश कुमार महतो, मुकेशकुमार कुसवाह, महादेव राय र प्रमोद सहनी घाइते भएका छन्।
 
झडमा मृत्यु हुने रामविलास महतो वडा अध्यक्षका काका हुन्। यसैगरी घाइतेहरु प्रेमनारायण, श्रीनारायण र भोजिन्द्र उनका दाजु हुन् भने दिवेश र मुकेश भतिजा हुन्।
 
घाइते सबै जनालाई गोलीको छर्रा लागेको छ। उनीहरुको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
 
वडा अध्यक्ष महतोमाथि भने अघिल्लो दिन (सोमबार) नै आक्रमण भएको थियो। 
 
कार्यालय जाँदै गर्दा स्थानीय ओपेन्द्र रायको घरमा जम्मा भएको एक समूहले आफूलाई कुटपीट गरेको उनले बताए ।
 
महतोको देव्रे खुट्टा दुई ठाउँमा भाँच्चिएको छ भने टाउकोमा १० वटा टाँका लागेको छ। उनी  पनि जिल्ला अस्पताल सर्लाहीमा उपचाररत छन्।
 
सोमबार आफूलाई आक्रमण गर्ने समूहले नै मंगलबार परिवारमाथि आक्रमण गरेपछि दोहोरो झडप भएको उनले बताए।
 
 पुस्तौंदेखि राजनीतिक पकड जमाएर बसेको समूहले आफू र आफ्नो परिवारमाथि आक्रमण गरेको महतोको आरोप छ।
 
नेकपाको स्थानीय नेतृत्वले भने उक्त घटनामा आफूहरुको कुनै संलग्नता नरहेको र निराधार आरोप लगाइएको दाबी गरिरहेको छ।
 
मृतकलाई सहिद घोषणा गर्न माग
 
पीडित परिवारले झडपमा परी मृत्यु भएका रामविलास महतोलाई सहिद घोषणा, दोषीलाई कारबाही, तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।
 
आफूहरुका माग पूरा गर्ने र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सवालमा सम्बन्धित पक्षले बेवास्ता गरे आफूहरु आन्दोलनमा उत्रने मृतकका आफन्तले चेतावनी दिएका छन् ।
 


यसमा तपाईको मत