• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

भ्रष्टाचार आरोपमा थुनामा रहेका चिकित्सकलाई रिहा गर्न नेपाल चिकित्सक संघको माग

भ्रष्टाचार आरोपमा थुनामा रहेका चिकित्सकलाई रिहा गर्न नेपाल चिकित्सक संघको माग
कार्तिक १९ गत्ते,जनकपुरधाम ।
 
नेपाल चिकित्सक संघले भ्रष्टाचार आरोपमा थुनामा रहेका दुई चिकित्सकलाई रिहा गर्न माग गरेको छ । 
 
मेडिकल काउन्सिलबाट निलम्बन भइसकेका चिकित्सकलाई पक्राउ गर्नु र भ्रष्टाचार मुद्दा चलाउनु गलत भएको संघको जिकिर छ।
 
बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा झूटो प्रतिवेदन दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले भीके सिंह र रम्भा गोइतविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
 
 
‘परीक्षणक्रममा हुन गएको त्रुटिबारे मेडिकल काउन्सिलले अनुसन्धान गरी सम्बन्धित चिकित्सकलाई कारबाही गरिसकेको छ,’ संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना सम्मानित अदालतमा प्रवेश गरी विचाराधीन रहेको अवस्थामा थुनामा परेका चिकित्सकलाई यथाशीघ्र रिहा गर्न संघ सरोकारवाला निकायसँग आग्रह गर्दछ ।’
 
इलाका प्रहरी कार्यालय खजुरी धनुषाले २०७५ भदौ ८ गते बल्हागोठकी १२ वर्षीया किशोरीको बलात्कार घटना अनुसन्धान गरेको थियो।
 
 बालिकाको स्वास्थ्य परीक्षणक्रममा जनकपुर अञ्चल अस्पतालमा कार्यरत सिंह र गोइतले पीडितको यौनांग सामान्य प्रकृतिको रहेको प्रतिवेदन दिएका थिए ।
 
चिकित्सकको प्रतिवेदनमा शंका लागेर प्रहरीले दुई सातापछि सिरहा जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरायो । 
 
एक सरकारी वकिलका अनुसार सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको प्रतिवेदन दिएको थियो। पीडितको किटानी जाहेरीका आधारमा स्थानीय रामवरण खत्वेलाई प्रहरीले पक्राउ गरेको थियो ।
 
 सिंह र गोइतको प्रतिवेदनका कारण अनुसन्धान प्रभावित बन्यो ।
संघका महासचिव कार्कीले काउन्सिलले कारबाही गरेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा डाक्टरमाथि अर्को मुद्दा आवश्यक नरहेको बताए ।
 
 ‘चिकित्सा समाजको प्रतिष्ठित पेसा हो, आरोप लागेका डाक्टर कहीं, कतै भागेर जाने होइनन्,’ उनले भने, ‘यस्तो अवस्थामा किन थुनामै राखेर कारबाही गर्नुर्पयो भन्ने हाम्रो सरोकार हो ।’
 
उनका अनुसार फरेन्सिक विशेषज्ञ वा त्यससम्बन्धी तालिम लिएको डाक्टरले मात्रै बलात्कारपीडितको स्वास्थ्य परीक्षण गर्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावका कारण अन्य डाक्टर परीक्षणमा संलग्न हुन्छन्।
 


यसमा तपाईको मत