• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

भिख माग्नेलाई सजाय

भिख माग्नेलाई सजाय
 
मंसिर १९गत्ते ,सिमरा ।
भिक्षा माग्नेहरूबाट सिमरा व्यापारी, पसले, यात्रु, सर्वसाधारण परेसान हुन्थे । भिक्षा माग्नेलाई नियमन गर्न कानुनी ज्ञानबारे धेरैलाई थाहा थिएन ।
भिक्षा माग्नेलाई कानुनी कारवाही पनि हुँदैनथ्यो । कसैले खुसीले त कसैले बाध्यताले भिक्षा, दक्षिणा दिएर माग्ने व्यक्ति (मगन्ते) लाई फकाइदिन्थे । पहिला भिक्षा माग्ने व्यक्तिलाई सजाय हुने कानुन लचिलो थियो । भिक्षा माग्नेविरुद्ध कसैले उजुरबाजुर गर्दैनथे । त्यसको फाइदा उठाउँदै माग्ने व्यक्ति उम्किने गरेका थिए । विभिन्न चाड, धार्मिक अनुष्ठान, बिरामीको उपचारको बहानामा धेरैले स्वेच्छा वा बलजफ्ती भिक्षा वा चन्दा उठाउने गर्थे ।
अब यस्तो बहाना बनाई भिक्षा माग्ने वा चन्दा उठाउनेलाई कानुनले छोड्दैन । हालै लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२६ मा भिक्षा माग्ने वा माग्न लगाउनेलाई कडा सजायको व्यवस्था गरेको छ । भिक्षा माग्नेभन्दा भिक्षा माग्न लगाउनेलाई बढी कसुरदार मानेर कानुनले बढी सजाय र जरिवानाको व्यवस्था गरेको जिल्ला न्यायाधिवक्ताको कार्यालय बाराका प्रमुख जिल्ला न्यायाधिवक्ता महेन्द्र बहादुर थापाले जानकारी दिए ।
‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आउँदो पुस ८ देखि १० गतेसम्म राजधानीको काठमाडौंमा हुन लागेको नेपालका सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिक्षा माग्नेविरुद्धको कानुनबारे स्पष्ट पारेका थिए ।
अहिलेको नयाँ कानुनबारे न्याय सम्पादन क्षेत्रमा खटिने कानुन व्यवसायी, सुरक्षाधिकारी, सरकारी वकिल लगायतलाई ज्ञानको अभाव रहेको छ । त्यसैले नयाँ कानुनको प्रयोगबारे जानकारी गराउने उद्देश्यले सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक स्थानमा भिक्षा माग्ने, भिक्षा संकलन गर्न बालबालिकालाई गीत गाउन लगाउने गतिविधि गर्न कानुनले बन्देज लगाएको छ । बालबालिकालाई ज्याला दिएर भिक्षा मगाउने चलन पनि बढ्दै गएको पाइन्छ । यस्ता क्रियाकलापलाई रोक्न कानुन आएको उनले स्पष्ट पारे ।
पहिलोपल्ट भिक्षा (भिख) माग्नेलाई १ महिनासम्म कैद सजाय वा १ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यही मानिस दोर्होयाएर भिक्षा मागेको फेला परेमा प्रतिपटक बढीमा २ हजार सम्म जरिवाना वा २ महिनासम्म कैद सजाय हुने व्यवस्था कानुनमा गरिएको छ ।
त्यस्तै बालबालिका, गरिबलाई प्रयोग गरेर भिक्षा (भिख) मगाउने व्यक्ति पहिलो पटक कसुरदार ठहरिएमा ती व्यक्तिलाई १ वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनमा व्यवस्था गरिएको छ । सोही व्यक्ति दोस्रो पटक अरूलाई प्रयोग गरेर भिक्षा मगाएको फेला परेमा ३ वर्षसम्म कैद सजाय वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए ।
कलैया बजारमा भारतबाट भित्रिएका मानिस (मगन्ते) ले भिख माग्ने प्रवृत्ति बढेको नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताए ।
भिख माग्नेबाट पूरै बजारका व्यापारी, यहाका सर्वसाधारण सबै परेसान छन् । भिख माग्नेलाई कानुनी सजायबारे सर्वसाधारणलाई जानकारी नहुँदा अहिलेसम्म उनीहरूलेकानुनी उपचार नखोजेको उनले जानकारी दिए ।
भिख माग्न पसलमा आउने बालबालिका वा व्यक्तिलाई खाली हात फर्काउँदा उल्टै अपशब्द समेत भिखमगाले प्रयोग गर्ने गरेको कलैयाका भरत चोकमा साइबर व्यवसाय सञ्चालन गरेका संजिव कुमार मिश्रले बताए ।भिखमगाबाट आफूमात्र होइन । यहाँका सबै व्यवसायी आजित बनेको उनले गुनासो गरे ।
भिख माग्न लागेको गुनासो अहिलेसम्म जिल्ला प्रहरी कार्यालमा नआएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रंजित सिंह राठौरले बताए । ‘भिख माग्न र भिख माग्न ललगाउन पाइन्न,’ उनले भने, ‘यदि भिख मागेको गुनासो पनि आएको छैन ।’ भिख मागेको फेला परेमा कानुनी कारवाही गरिने उनले बताए । भिख माग्न आउने व्यक्तिबारे प्रहरीमा समयमै सूचना दिन उनले सबैलाई आग्रह गरे ।
 

 



यसमा तपाईको मत