• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

झोलुंगे पुलले जोड्यो ४ जिल्ला

झोलुंगे पुलले जोड्यो ४ जिल्ला
 
मंसिर १९गत्ते ,सिरहा ।
सिरहा, उदयपुर, सिन्धुली र धनुषाको संगमस्थल चिसापानीस्थित उत्तरायणी कमला नदीमा झोलुंगे पुल निर्माण भएको छ । त्यसले स्थानीय हर्षित छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको करिब तीन करोड रुपैयाँको लागतमा पुल निर्माण भएपछि ती जिल्लाका सिस्नेरी, गुण्डाई, दमार लगायत तीन दर्जन गाउँका स्थानीयलाई आवत जावतमा सहज भएको हो ।
करिब ४ सय मिटर लम्बाइ रहेको पुल निर्माणपछि त्यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावत र बिरामीलाई तत्काल अस्पतालसम्म र्पुयाउन सहज भएको छ । पुल निर्माण भएपछि किसानलाई आफ्नो खेतबारीमा उत्पादन भएका खाधान्न तथा तरकारीलाई बजारसम्म र्पुयाउन सजिलो भएको छ । कमला उत्तरायण तीर्थस्थलका नामले ख्याति कमाएको त्यस क्षेत्रमा धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ ।
पुल नहुँदा स्थानीय सिरहाको बन्दीपुर बजार आउन डेढ घण्टा पैदल हिँड्न बाध्य थिए । त्यसैगरी उदयपुर सदरमुकाम गाईघाट पुग्न सिस्नेरीका स्थानीय घुमाउरो बाटो हुँदै बन्दीपुर दुई घण्टा पैदल बाटो तय गरी बन्दीपुरबाट यातायातका साधनबाट पुग्नुपर्ने बाध्यता थियो । तर अहिले पुल पार गरेपछि टेम्पोमा आधा घण्टामा सिरहाको बन्दीपुर बजार पुगिने स्थानीय दमारका राम बहादुर सुनुवारले बताए ।
पुल अभावमा धनुषाको गोदार पुग्न समेत घुमाउरो बाटो तय गर्न स्थानीयलाई दुई घण्टा लाग्थ्यो । ‘झोलुंगे पुल निर्माणले हामीलाई सहज बनाएको छ,’ गणेशमान थान नगरपालिका ५ धनुषाका रामबहादुर सुनुवारले भने, ‘तराई मधेसको सुगम जिल्लाका बासिन्दा भए पनि हामीले सडक सञ्जालले नजोडिदा दुस्खी थियौं, झोलुंगे पुल निर्माणले दैनिकी सहज बनाइदिएको छ ।’
तराई मधेसको सुगम जिल्ला सिरहा, धनुषा भएपनि ती क्षेत्रका दुई दर्जन गाउँ उत्तरवर्ती विकट चुरे क्षेत्रमा पर्छन् । नगरपालिका भइसक्दा समेत नगरपालिकाको अनुभूति अहिलेसम्म पूर्वाधार अभावमा यहाँका जनताले महसुस गर्न नपाएको दुस्खेसो उनको छ । गणेशमान थान नगरपालिकाको ५ नम्बर वडामा पर्ने दमारमा मात्रै १ सय ६५ घर परिवार मगर, क्षेत्री, बाहुन, दनुवार, परियार, विश्वकर्माको बसोबास छ ।
त्यसैगरी उदयपुरको सिस्नेरीमा सय घर, सिन्धुलीतर्फ डेढ सय घरपरिवारको बसोबास छ । कमला खोलास्थित चिसापानी उत्तरायणी क्षेत्रमा पानी वहाव तीव्र हुने गरेकाले पुल नहुँदा घुमाउरो पैदल यात्रा गर्नुपरेको स्थानीय हस्त बहादुर परियारले सुनाए ।
‘तर झोलुंगे पुल निर्माणले आवत जावत सहज भएको छ नैं,’ उनले भने, ‘गाउँमा उत्पादित तरकारी, फलफूल बन्दीपुर बजार र्पुयाएर बिक्री गर्न पाएका छौं, यसबाट गाउँलेको आम्दानी समेत बढेको छ ।’ झोलुंगे पुल निर्माणसँगै हर्षित भएका स्थानीयले एक गाउँबाट अर्को गाउँ जोड्न सडक सञ्जाल बिस्तारको स्थानीय जनप्रतिनिधिसँग माग गरेका छन् ।
प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालmनई पुल निर्माण दाहालकै सक्रियतामा भएको स्थानीयले सुनाए । ‘उत्तरायणीलाई धार्मिक पर्यटकीय स्थलको विकासमा उहाँकै योगदानले सफल भएको हो,’ स्थानीय रामबहादुर सुनुवारले सुनाए ।
 


यसमा तपाईको मत