• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

कापी–किताब बोक्ने हातमा ‘जाल’,गरिबीका कारण नदीको भर पर्नु परेको अभिभावकको गुनासो

कापी–किताब बोक्ने हातमा ‘जाल’,गरिबीका कारण नदीको भर पर्नु परेको अभिभावकको गुनासो
 
मंसिर २१ गत्त ,रौतहट ।
चन्द्रपुर–१ स्थित बागमती नदीको पूर्वपट्टिको किनारमा बिहीबार माछा मार्ने बालकहरू थिए । उनीहरूको हातमा माछा मार्ने स–साना जाल थिए । साथमा माछा राख्ने सिलवरको भाडा ।
विद्यालय जाने उमेरका बालकहरू दिनभरि माछा मार्छन् । गरिबीका कारण नदीको भर पर्नु परेको अभिभावकको गुनासो छ ।
बागमती कर्मैयाका १० वर्षीयका सन्देश सहनी दिनहँु माछा मार्न नदी पुग्छन् । उनी कर्मैयाको स्थानीय विद्यालयकमा कक्षा ३ मा अध्यनरत छन् । उनी आकलझुकल विद्यालय जान्छन् । ‘दिनभरि माछा मारेर ७ सय जति कमाउँछु,’ उनी भन्छन्, ‘गरिबीका कारण माछा मार्नु परेको हो ।’ ब्याटी्रको करेन्टबाट माछा मार्दै उनको दैनिकी सुरु हुन्छ । उनीहरू ७ जनाको जमात छन् । आफूभन्दा ठूला दाइले करेन्ट लगाएर माछालाई लठ्याउँछन् ।
केही पर सनो जाल बोकेर बसेका सन्देश लठ्ठिएको माछालाई नियन्त्रणमा लिन्छन् । प्रहरीले करेन्ट लगाउन कडाइ गरेपछि केही जाल हानेर माछा मार्न थालेका छन् । केही लुकाएर करेन्ट प्रयोग गर्छन् । ठूलाले ३र४ हजारसम्म कमाउने गरेको सुनाए । यता बागमतीस्थित नयाँ बस्तीका अधिकांश मलाहा जातिका बालकहरू विद्यालय जाँदैनन् ।
उनीहरू माछा मार्न नदी पुग्छन् । दिनभर यसैमा लाग्छन् । बाढीबाट बिस्थापित बस्तीका महिलाहरू बागमती बगरमा ढुंगा, गिटी संकलन गर्न जान्छन् । पुरुषहरू जंगलमा दाउरा लिन र कोही माछा मार्न जान्छन् ।
साना बालक ढाडमा ब्याट्री बोकेर नदीमा माछा मार्दै गरेको दृश्य सधंै जसो देख्न पाइन्छ । उनीहरू विद्यालयभन्दा माछा मार्नलाई बढी प्राथमिकता दिन्छन् । ‘पढेर के गर्नु । घरमा चुलो बल्दैन,’ स्थानीय जनक सहनी भन्छन्, ‘जातै माछा मार्ने हो । यसमा पनि गरिबका कारण यही पेसा गर्नै पर्छ ।’ अधिकांश मलाहा जातिहरू माछा मार्छन् ।
२०५० सालमा बागमती नदीमा आएको बाढीले घरबारविहीन झन्डै २ सय बढी बिस्थापितहरूको जीवन कष्टकर बनेको छ । उनीहरू नजिकको जङ्गलमा काठ काटेर दाउरा बिक्री गर्दै आएका छन् । धेरै जसो बागमतीमा माछा मारेर जीविका चलाउँदै आएका छन् ।
बाढीले घर खेत बगाएपछि तत्कालीन गढौ गाविसका स्थानीय विस्थापित भएका थिए । उनीहरूलाई सबै पौराइस्थित मंगलपुरमा चाइनाको चुची फाउन्डेसनले निर्माण गरेको घरमा पुनर्वास गराइएको थियो ।
रोजगारी र आम्दानीको स्रोत नभएकाले जीविकोपार्जनमा समस्या परेको उनीहरूको गुनासो छ । फाउन्डेसनले एक बिस्थापितलाई एक घरको व्यवस्था गरेको थियो । ‘घर मात्र भएर के गर्नु ?’ विस्थापित रामेश्वर सहनी भन्छन्, ‘रोजगारीका अभावले परिवार पाल्न कठिन छ । पढाउन त परै जाओस् ।’ बाढिले १ बिघा खेतीयोग्य जमिन घर बगाएपछि उनी सुकुम्बासी भएका हुन् । उनी पनि माछा मार्न नदी पुग्छन् ।
लुकाएर करेन्ट लगाउँदैबागमती नदीमा अबैध रूपमा विद्युतीय करेन्ट प्रयोग गरी माछा मारिने गरेको सञ्चार माध्यममा आएपछि प्रहरीले कडाइ गरेको छ । तर लुकाएर उनीहरू करेन्ट प्रयोग गर्छन् । प्रहरीको गतिविधि हेरेर उनीहरू नदी पस्छन् र करेन्ट प्रयोग लगाएर माछा मार्छन् । यस्तो कार्यमा सर्लाही कर्मैयाका सहनीहरू सक्रिय छन् । यसले नदीमा रहेका जीवहरूलाई खतरमा पारेको छ ।
कानुन विपरीत करेन्ट प्रयोग गरी माछा मारेको पाइए पक्रेर जलचर संरक्षण आदेश २०५९ अनुसार कारबाही हुने प्रावधान छ । इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले आफ्नो इलाकामा नियम विपरीत कुनै पनि काम हुन नदिने बताए । ‘नदीमा करेन्ट प्रयोग गर्न प्रतिबन्ध लगाएका छांै,’ उनले भने, ‘यस्तो कार्य गरेको फेला पारे पक्रेरकारबाही गर्छौं ।’
जलचर संरक्षण आदेशको २०५९ को दफा ३ ले विस्फोटक पदार्थ, बिषालु पदार्थ र विद्युतीय धारको प्रयोग गर्न नदीमा प्रतिबन्ध छ । संरक्षण ऐन २०५५ र संरक्षण आदेश २०५९ ले नदी, खोला, तालमा माछा मार्न वा पक्रन प्रतिबन्ध छ । यसरी करेन्टको प्रयोगले नदीमा रहेको जीवहरूलाई खतरमा पारेको छ ।
स्थानीय मलाहाहरूले ब्याट्रीमा तार अल्झाएर सानो काठमा बेर्छन् । लाठी जस्तै लामो काठमा विद्युतको खुला तार अड्याइन्छ । र नदीमा चोपिन्छ । वरपरका माछा करेन्टको झट्का सहन नसकेर उफ्रन्छ । करेन्ट लगाउने समूहभन्दा पर पानीको धार बगेको स्थानमा जाल थापेर अर्को समूह बस्छ । करेन्टको झट्काले रन्थनिएको माछा सीधैजालमा पर्छ ।
 


यसमा तपाईको मत