• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

नेताको आचरण

नेताको आचरण

मञ्जु यादव

काठमाडौँ — श्री राम शर्मा आचार्यले ‘देशका नेता कैसा हो ?’ भन्ने किताबमा नेताको गुणबारे विश्लेषण गरेका छन् । आचार्य लेख्छन्– हात्तीको जस्तो ठूलो कान, आँखा एकदमै सानो, पेट ठूलो, मुसाजस्तो चाल भएको व्यक्ति प्राचीन शास्त्र अनुसार गणपति अर्थात नेता हुनलायक हुन्छन् ।

समाजको मार्गदर्शक हुन्छन् । नेतामा समाजको अगणितय समस्यालाई आफ्नो ज्ञान र क्षमताका आधारमा समाधान गर्न सक्छन् ।


नेपालमा पञ्चायतको विरोधदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनमा भाग लिएका परिपक्व दल र नेता छन् । तिनले औपचारिक र अनौपचारिक रूपमा समाज, देश र सरकारको नेतृत्व गर्दै आएका छन् । जनताले आफ्ना नेता भनेर उनीहरूलाई सम्मानका साथ सबै आन्दोलनमा विना हिचकिचाहट सघाउँदै आएका छन् । जनताका धेरै छोराछोरी सहिद भए ।

 


यतिबेला सर्वसाधारण जनता निराश छन् । नेताप्रति जनताको सम्मान घटेको देखिन्छ । जनता नेताप्रति आक्रोशित छन् । नेताको सम्मानमा घटोत्तरी किन भयो भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ । जनआक्रोश र निराशालाई नेतृत्वले सम्बोधन गर्नुपर्छ ।

 


प्रदेश नं. २ मा मधेस केन्द्रित दलको बहुमतसहित सरकार छ । मधेसमा वर्गीय विभेद र बेरोजगारी समस्या लगायतका थुप्रै समस्या छन् । यो मुद्दामा प्रदेश नं. २ को सरकारले ठोस नीति, कार्यक्रम, अभियान ल्याएको देखिएन । यहाँ प्रदेश सरकार असफल हुनुमा पनि संघीय सरकारलाई दोष दिइन्छ । प्रदेशका मन्त्रीहरूले नै ‘भूमिका विनाको प्रदेश सरकारले के नै प्रतिफल दिन सकिन्छ’ भनेको पनि बेला–बेला सुनिन्छ ।

 


केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार छ । यो कम्युनिस्टका लागि गौरव र ऐतिहासिक समय हो । कम्युनिष्टहरू हिजो हामी अल्पमतको कारण देखाई आम जनताले खोजे अनुरुप काम गर्न नसकेको बताउँथे, जनताले पनि उनीहरूको कुरा मानिदिन्थे ।

 


अहिले बहुमतसहित केन्द्रमा सरकार गठन भएका बेला संविधानमा तोकिएका मौलिक हक कार्यान्वयनमा केन्द्रित हुनुपथ्र्यो । दलहरूको प्रारम्भका बेलाका मुख्य मुद्दा गाँस, बास, कपास, शिक्षा, रोजगारीमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनुपथ्र्यो । म आफैं नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुँ । मैले आफूले पढेको गाउँको सरकारी विद्यालयमा शैक्षिक सुधारको कुरा गर्दासमेत सम्बन्धित मन्त्री र निकायले चासो देखाएनन् ।

 


महोत्तरीको किशोरी जनता माविका मुकेश मल्लिक विद्यालय विरुद्ध जिल्ला अदालतमा जातीय छुवाछूत सम्बन्धी मुद्दा लडिरहेका छन् । मल्लिकलाई विद्यालय परिसरभित्र अरुले गरेको श्राद्धको भोजको फोहोर सफा नगरेको निहुँमा विद्यालयबाट निकालिएको थियो । विद्यालयको यस्तो व्यवहार सुधारका पक्षमा कोही गम्भीर देखिँदैनन् ।

सरकारले निजी विद्यालयलाई सरकारीकरण गर्दै गुणस्तरीय शिक्षा दिन प्राथमिकताका साथ लाग्नुपथ्र्यो । यसबाट बालबालिकाको भविष्य उज्यालोमात्र बन्दैन, सक्षम जनशक्ति उत्पादन पनि हुन्छन् । सरकारले सहज र निशुल्क सेवासुविधाका लागि वातावरण बनाउनुपथ्र्याे ।

 


मधेस आन्दोलन सबै खाले विभेद विरुद्ध थियो । कम्युनिष्ट आन्दोलनको जग सामन्तवाद र दलालहरूको विरोध थियो । तर अहिले अवसर विभेदको जग बसाल्नेहरूले नै पाइरहेका छन् । यसले प्रधानमन्त्री केपी ओलीमाथि नै आलोचना खनिएको छ । देशका सरकारी संस्थाहरू धरासाही हुँदै जाँदा मन्त्री र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने होइन ?

 


नेताको आचरण सही नहुँदा जनता, सरकार र देश असफल हुन्छन् । राजा सम्मानित भएर पनि राजाले जनता र देश अनुसारको आचरण नअपनाउँदा राजसंस्था बिदा भयो । लोकतान्त्रिक चरित्र नअपनाउँदा नेपाली कांग्रेस सता बाहिर छ ।

कम्युनिष्ट पार्टीका हामी जनप्रतिनिधिले कम्युनिष्ट चरित्र अवलम्बन नगर्ने हो भने हामी पनि सत्ता बाहिर जान समय पर्खिनु पर्दैन । मधेस केन्द्रित दलहरुलाई यो अन्तिम अवसर पनि हुनसक्छ ।

लेखक प्रदेश २ की सांसद हुन् ।

 



यसमा तपाईको मत