• :
  • :
    • On Air
    • Hindi songs
    • Up Next
    • Mithilanchal News

समाचार

४ गाउँका एउटै जमिन्दार

४ गाउँका एउटै जमिन्दार


पुस २२ गत्ते ,पर्सा ।
५५ वर्षीय गणेश मल्ली आफ्नो गाउँ मात्र नभई छिमेकका ३ गाउँका पनि जमिन्दार हुन् । जातले तराईको कथित दलितभित्रका मानिने डोम जातिका उनले २८ वर्षअघि आफ्नो गाउँ प्रसौनी साढे ४ हजारमा अरूसँग किनेका थिए ।
३ वर्षअघि सुगौली गाउँ १ लाख २० हजार, ३ वर्षअघि नै अपौनी गाउँ ८० हजार र १५ वर्षअघि चैनपुर गाउँ ४ हजार २ सयमा किनेकाहुन् उनले ।

 


झट्ट सुन्दा यति कम मूल्यमा सिंगो गाउँ उनले कसरी किने होलान् भनी जसले पनि लख काट्न थाल्छ । त्यसमा ४ गाउँका जमिन्दारको हालत जमिन्दार त के मध्यमवर्गीय व्यक्तिको जस्तो पनि छैन । न उनीसँग ठूला जातका जमिन्दारहरू जस्तो प्रसस्त जग्गाजमिन र गाडी घोडा नै छ । न उनको चाकरी गर्ने सुसारेहरू नै छन् 

 


उनको जमिन्दारी मधेसको पुरानो परम्परा हो । मधेस–तराईका गाउँहरूमा डोम जातिले गाउँनै किन्ने परम्पराको उनी पछिल्लो उदाहरण हुन् । गाउँ समाजका कथित ठूला जातिले दलित र पानी नचल्ने भनी प्रायस् गाउँ बाहिर बस्न दिने गरेका यिनै गाउँ समाजका ठूलाबडाको बिहेवारी र मरण जस्ता संस्कारमा अनिवार्य रूपमा चाहिन्छन् ।

 


यिनै दलितले बनाउने बाँसका सामग्री बिहेवारीमा अनिवार्य मानिन्छ । मरणमा शव दाह गर्दा मुखाग्नी दिने आगो डोमसँग किन्नुपर्ने परम्पराले पनि डोमको माग बढ्छ ।

 


तराईमा यसरी गाउँ समाजमा हुने विवाह र मृत्यु संस्कार दुबैमा डोमको महत्त्वपूर्ण भूमिका र आवश्यकता पर्ने भएकाले डोम जातिका अगुवाहरू यसरी गाउँ किन्ने गर्छन् । जसले जुन गाउँ किनेको हुन्छ त्यो गाउँमा हुने प्रत्येक विवाह र मृत्युसंस्कारमा उसले मात्र सेवा दिने गरेको गणेश बताउँछन् ।

 


परापूर्वकालदेखि चलिआएको परम्परालाई आफूहरूले धान्दै आएको उनले बताए । डोम जातिलाई सबैले हेला गर्ने तर समाजलाई डोम जाति नभई नहुने भएकाले आफूहरूको जमिन्दारी प्रथा पनि बाँचिनैरहने गणेश दाबी गर्छन् ।

 


जमिन्दारीबाटै मासिक करिब १ लाख आफूले कमाउने गरेको गणेश बताउँछन् । उनको अहिले ५ धुर जग्गामा बनेको पक्की घर छ । ३ भाइ छोराको परिवार र उनको दम्पती यही सानो घरमा अटेका छन् ।

 


जमिन्दारी बाहेक डोम जातिको आम्दानीको मुख्य स्रोत बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्नु पनि हो । बाँसका छैटी, ढक्की, फूलडाली, बेहेरी, सुपुली आदि सामग्री उनीहरू बनाउँछन् । विवाह मात्र नभई तराईको महान पर्व छठमा पनि डोमले नै बनाएका सामग्रीहरूमा पूजाअर्चना गरिन्छ ।

 


राम्रै आम्दानी गरे पनि अव्यवस्थित बसाइ, अशिक्षा, परिवार नियोजनप्रतिको चेतना नहुनु, फोहोर र दुर्गन्धमै रमाउने तथा समाजका कथित उच्च र घरानिया वर्गले पनि चासो नदिने भएकाले डोम जाति अझै निक्कै पछि परेका छन् । तराईका जिल्लाहरूमा यो जातिको बसोबास छ । प्रायस् सबै गाउँको बाहिर सार्वजनिकऐलानी जग्गाहरूमा यो जातिको बसोबास देख्न सकिन्छ ।

 


सामाजिक अभियन्ता प्रकाश थारू डोम जाति पछि पर्नुमा राज्य र समाज जिम्मेवार रहेको बताउँछन् ।
 



यसमा तपाईको मत