• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

शक्तिशाली होइन, समन्वयकारी प्रजिअ’

शक्तिशाली होइन, समन्वयकारी प्रजिअ’


पुस २५ गत्ते ,जनकपुरधाम ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई ‘शक्तिशाली’ बनाउँदै आफूमातहत राख्न संघीय सरकारले तयार पारेको आन्तरिक सुरक्षा विधेयकमा प्रदेश २ को सरकारले फरक सुझाव दिएको छ ।


प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रजिअलाई दोहोरो भूमिकामा राख्न संघीय सरकारलाई सुझाव दिएका हुन् । प्रजिअ नागरिकता, राहदानी र सीमा सुरक्षाको मामिलामा संघीय सरकारसँग र शान्तिसुरक्षा तथा प्रहरी परिचालनमा प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने भूमिकामा रहनुपर्ने उनले बताए ।

‘प्रादेशिक संरचनामा पनि प्रजिअ राख्नै चाहन्छन् भने उसको भूमिका दोहोरो हुनुपर्छ,’ यादवले मंगलबार भने । प्रदेश २ सरकारले आन्तरिक शान्तिसुरक्षा तथा सुव्यवस्था विधेयकमा प्रजिअलाई दोहोरो भूमिकामा नराखिए प्रदेश सरकारले छुट्टै प्रजिअ नियुक्त गर्ने चेतावनी पनि दिए । ‘प्रजिअको भूमिका र नाम फेरेर राहदानी, नागरिकता र सीमा सुरक्षा अधिकारी राख्नुपर्ने हाम्रो अडान हो,’ मन्त्री यादवले भने, ‘शान्तिसुरक्षा र प्रहरी परिचालनमा प्रजिअलाई प्रदेश सरकारप्रति उत्तरदायी नबनाए हामी आफ्नै प्रजिअ नियुक्त गरेर जिल्ला हाँक्छौं ।’


मन्त्री यादवले त्यसैका लागि प्रदेश सरकारले प्रशासनसँग सम्बन्धित विधेयक तयार पारेको र प्रदेशसभामा दर्ता गराउने अन्तिम तयारीमा रहेको बताए । लामो समयदेखि रोकिएको प्रदेशसभाको बैठक माघको पहिलो साता बस्दैछ । त्यसअघि नै प्रदेश सरकारले प्रशासन र एकीकृत सञ्चारसँग सम्बन्धित दुई विधेयक प्रदेशसभामा दर्ता गराउने तयारी गरेको मन्त्री यादवले जानकारी दिए । प्रदेश २ को सरकारले प्रादेशिक लोकसेवा आयोग गठन विधेयक पनि अगाडि बढाएको छ ।


संघीय सरकारले सातै प्रदेशका प्रशासनिक संरचना तथा सुरक्षा निकायमाथिको ‘कमान्ड कन्ट्रोल’ आफैंसँग राख्न आन्तरिक शान्तिसुरक्षा तथा सुव्यवस्था विधेयकको मस्यौदा तयार पारेको छ । विधेयकमा प्रजिअलाई प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीभन्दा शक्तिशाली बनाइएको छ । प्रदेश २ को सरकारले संविधानको मर्म्विपरीत संघीय सरकारले ‘प्रतिगमन’ विधेयक ल्याउन खोजेको भन्दै विरोध जनाएको छ । आन्तरिक मामिलामन्त्री यादवका अनुसार संविधानको अनुसूची ६ को १ मा प्रहरी–प्रशासन प्रदेश सरकारको मातहतमा रहने प्रस्ट व्यवस्था रहे पनि संघीय सरकारले विधेयक ल्याएर संघीयता र संविधानको मर्ममा प्रहार गर्न खोजेको छ ।


प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को गठबन्धनको सरकार छ । फोरम संघीय सरकारमा सहभागी छ भने राजपाको समर्थन छ । प्रदेश २ को सरकारले फोरमका अध्यक्ष एवं मन्त्री उपेन्द्र यादवलाई आन्तरिक शान्तिसुरक्षा तथा सुव्यवस्था विधेयक रोक्न आग्रह गरिसकेको छ । ‘विधेयक कुनै सर्तमा स्वीकार हुँदैन भनिसकेको छु,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘संविधानलाई नचिनेको प्रजिअलाई शक्तिशाली बनाउँदा संघ–प्रदेशबीच द्वन्द्व बढ्छ ।’
 

 



यसमा तपाईको मत