• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

गृहमन्त्रीकै अगाडि पर्सा, बारा र रौतहटलाई अलग प्रदेश बनाउने चेतावनी

गृहमन्त्रीकै अगाडि पर्सा, बारा र रौतहटलाई अलग प्रदेश बनाउने चेतावनी
 
पुस २८ , वीरगन्ज ।
मुलुकको अर्थतन्त्रमा झण्डै आधा हिस्सा योगदान दिँदै आएको वीरगन्जको विकासमा संघीय र प्रदेश दुबै  सरकारले उपेक्षा गरेको गुनासो उद्योगी र राजनीतिक दलका नेताले गरेका छन्। 
 
शुक्रबार वीरगन्जमा आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाको उद्घाटन समारोहमा बोल्ने उद्योगी व्यपारी र दलका नेताले सरकारले राजस्व उठाउनका लागि मात्र वीरगन्जलाई उपयोग गर्दै आएको भन्दै आपत्ति जनाए।
 
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित कार्यक्रममा वीरगन्जका उद्योगी व्यपारी र दलका नेताले  मुलुक संघीय संरचनामा जानु भन्दा पहिले केन्द्र सरकारबाट विभेद र उपेक्षामा परेको वीरगन्ज, अहिले नयाँ शासन प्रणाली लागु भएपछि प्रदेश सरकारबाट पनि विभेदमा परेको गुनासो गरे। 
 
देशको कुल राजस्वमध्ये ४० प्रतिशत राजस्व वीरगन्जबाट नै संकलन हँुदै आए पनि त्यसको उपलब्धि भने अरु सहरले मात्र पाइरहेको उनीहरुको भनाइ छ।
 
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगन्जसँग भइरहेको विभेद नरोकिए पर्सा, बारा र रौतहट तीन जिल्लालाई समेटेर छुट्टै प्रदेश बनाउनु पर्ने माग सशक्त रुपमा उठ्ने चेतावनी दिए । 
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले पनि वीरगन्जको विकासमा विभेद नगर्न प्रदेश र संघीय सरकारसँग आग्रह गरे। 
 
४० प्रतिशत राजस्व वीरगन्जले नै दिँदै आएको भएपनि त्यो राजस्व सरकारले अरु नाकामा खर्च गरिरहेको गुनासो उनको छ। 
 
सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वा्चित पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले मधेस आन्दोलन वीरगन्जकै उद्योगी व्यपारीको सहयोगका कारण सफल भएकाले केन्द्र सरकारले अहिले वीरगन्जसँग बदला लिइरहेको आरोप लगाए। 
 
संघीय सरकारले वीरगन्जलाई सुनको अण्डा पार्ने कुखुरा ठानेर राजस्व उठाउनका लागि मात्र उपयोग गरिरहेको टिप्पणी उनको छ।
 
संघीय सरकारले वीरगन्जको विकासका लागि विशेष प्याकेज बनाउनुपर्ने माग पनि गरे। यसका लागि आफूले पनि  सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
 
सत्तारुढ दल नेकपाका पोलिटब्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री नागेन्द्र चौधरीले पनि विकासका सवालमा वीरगन्ज ठगिएको बताए।
 
कार्यक्रममा सहभागी वीरगन्जका उद्योगी व्यपारी र दलका नेताहरुको गुनासो सुनेपछि गृहमन्त्री थापाले मुलुकको अर्थतन्त्रमा वीरगन्जले दिँदै आएको योगदानको कदर र सम्मान नभएको भन्ने गुनासो जायज रहेको बताए।
 
गृहमन्त्री बादलले अहिले राजनीतिक शासन व्यवस्था परिवर्तन भइसकेको र काठमाडौंमा मात्रै केन्द्रित नरहेको प्रष्ट पारे। 
 


यसमा तपाईको मत