• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

‘कालो’ किन नराम्रो ?

‘कालो’ किन नराम्रो ?

यो आलेखमा नेकपा एमालेका वैचारिक नेता शंकर पोखरेलको कथन ‘मधेसी जनता अधिकांश कालो वर्णका छन् । मधेसी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या कि अपमान ? बुझ्न गाह्रो भो’ भन्ने धारणाबाट सृजित सामाजिक बहसलाई सम्बोधित गर्न खोज्दैछ ।

व्यक्ति शंकर पोखरेललाई मन पराउने अधिकार हामीसँग जति पर्याप्त छ, उहाँलाई मन नपराउने अधिकार पनि सोही मात्रामा नै छ । तर, व्यक्ति या व्यक्तिले समर्थन गर्ने संस्थालाई मन नपराउँदैमा व्यक्तिको कथनलाई तोडमोड गरेर अनर्थ लगाउने र सामाजिक बद्नाम गर्ने काम राम्रो हैन । तसर्थ, लडाई सामाजिक न्यायका लागि हुनुपर्छ, कुनै खास व्यक्तिलाई हराउने लडाइँले समाज अगाडि बढ्नै सक्दैन ।

म सन् २०१२ मा अमेरिकाको संसदीय प्रणाली अध्ययन गर्ने एक महिने छात्रवृत्ति पाएर अमेरिका गएका थिएँ । शोध भ्रमणका क्रममा अमेरिकाको केही पिछडिएको राज्य नेभाडाको एक विद्यालयमा जाँदा विद्यालय प्रांगणमा खेलिरहेका अन्दाजी ६-७ वर्षका गोरो वर्ण, निलो आँखा भएका एक सुन्दर बालक पंक्तिकारलाई देख्ने बित्तिकै डर मिश्रति आश्चर्य मुद्रामा नियाल्न थाले । लामो समयसम्म ती बालक अचम्म भएको देखेर म आफै अचम्ममा परेँ ।

आफ्नो पक्षबाट अव्यवहारिक केही भएको छ कि भन्ने लागेर आफ्नो लुगा, पाईन्टका सबै ठाउँहरु, कपाल, आदि हेर्दा पनि केही नपाएपछि मोबाइलमा आफ्नो अनुहार पनि हेरेँ । अव्यवहारिक पक्ष केही नभेटेपछि उत्सुकता झन् जाग्यो ।

उत्सुकता मेटाउने अन्तिम विकल्प स्वरुप म ती बालकको समीपमा गएर भलाकुसारी शुरु गरेँ ‘हाई, ह्वाट इज योर नेम ?’ । प्रश्नको कुनै मतलब नगरी बालक डरले केही कदम पछाडि फर्केर एकै श्वासमा प्रश्न गर्छन्, ‘आर यु ब्लाक ?’ मतलब, ‘के तिमी कालो जातको हो ?’

ती कलिला बालकको निर्दोष दिमागमा कति चाँडै – कति गहिरो गरी ‘काला जाती’ विरुद्ध भावना जगाइसकेका रहेछन् ? अथवा अमेरिकामा काला जातीलाई गोरा जातीले जीवनको कति चाँडै घृणा गर्न थाल्दारहेछन् भन्ने कुरा मैले महशुस गरें । र, अर्को बुझाई पनि सँगै ग्रहण गरें, ‘गोरा जाती’ले ‘काला जाती’को कुनै कर्म, व्यवहार, विचार, धर्म या गुण-दोषका आधारमा नभई जन्मँदै लिएर आउने केवल ‘छालाको रंग’का आधारमा विभेद गर्दा रहेछन् ।

मलामी जाँदा या दुःखका बेला कालो पोशाक (कम्तिमा कालो टाई अनिवार्य) लगाउने र विवाह गर्दा सेतो लुगा लगाउने संस्कार नै बनाएर पश्चिमाहरुले कालो वर्णका मानिसहरुलाई ‘घृणा योग्य’ पुष्टि गरिरहेका छन्, व्यवहार गरिरहेका छन् । र, यो ‘छालाको रंग’को आधारमा विभेद केही हदसम्म नेपालमा पनि कायम छ ।

नेपालका तराई/मधेसमा अधिकांश कालो छालाका नेपालीहरुको बसोबास रहेको छ भने हिमाल/पहाडतिर गोरो या गहुँ-गोरो छालाका नेपालीहरुको बसोबास अधिक छ । यी गहुँ-गोरो वर्णका केही नेपालीहरुले तराई/मधेसका नेपालीहरुलाई विना कारण हेलाभाव दर्शाउने प्रवृत्ति देखिएका छन्, जुन सरासर अमानवीय प्रवृत्ति हो ।

‘कालो नराम्रो’ र ‘सेतो राम्रो’ भन्ने भावना वास्तवमा सदियौं पुरानो भावना हो । यही भावनाका कारण नै पहाडी मुलका जनताले मधेसी मुलका ‘कालो छाला’ धारी जनतालाई हेपाहा भावना सहित प्रस्तुत हुन्छन्

अध्ययन भएको/नभएको पंक्तिकारलाई थाहा छैन, तर नेपालमा मधेसी जनतालाई ‘हेला भाव’का दृष्टिले हेर्ने अधिकांश पहाडी जनताले वास्तवमा ‘कालो छाला’का कारणले त्यस्तो व्यवहार गरिरहेका हुन्छन् । उनीहरु कालो रंगलाई नराम्रो, अशुभ, अलच्छिन, अभाग्यका रुपमा लिन्छन्, कालो रंगलाई सम्पूर्ण हिसाबमा ‘नकारात्मक वा विरोधको संकेत’का रुपमा लिन्छन् । नराम्रो मनलाई कालो मन, नराम्रो व्यवहारलाई कालो व्यवहार, नराम्रो दिनलाई कालो दिन, नराम्रो भाग्यलाई कालो भाग्य, इत्यादि ।

‘कालो नराम्रो’ र ‘सेतो राम्रो’ भन्ने भावना वास्तवमा सदियौं पुरानो भावना हो । यही भावनाका कारण नै पहाडी मुलका जनताले मधेसी मुलका ‘कालो छाला’ धारी जनतालाई हेपाहा भावना सहित प्रस्तुत हुन्छन् । मधेसीलाई हेला गर्ने कोही मानिसले चिन्दै नचिनेको मधेसीलाई पनि देख्ने बित्तिकै अलि हेलाभावले व्यवहार गर्नुको कारण यही छालाको रंग कालो भएर नै होला ।

केही दशक अघिसम्म पनि काठमाडौंका नेवारहरुले अपरिचित कालो वर्णको मानिसलाई देख्दा ‘मनु मखु मधिस्या ख’ (मान्छे हैन मधेसी हो) भन्ने गर्थे रे । उनीहरुले देखेका मधेसीको व्यवहार, विचार, संगत, संस्कार, धर्म, आदि कुनै पक्षको सामान्य जानकारी बिनै कु-नजरले हेरेका हुन्, उनीहरुको छालाको ‘कालो वर्ण’ कै कारण हेला गरेको हुनुपर्छ ।

तसर्थ, नेपालमा पहाडी-मधेसी विभेदलाई हटाउन सबभन्दा पहिले ‘कालो हुनु राम्रो हो’ भन्न नसकेपनि कम्तिमा ‘कालो हुनु नराम्रो हुनु हैन’ भन्ने भावना, चेतना जगाउनु पर्छ । यो भावना जगाउने हामी सबै नेपालीको साझा दायित्व भएपनि यसलाई एउटा आन्दोलनका रुपमा विकास गर्नुपर्ने मधेसको प्रतिनिधित्व दाबी गर्ने मधेसी दलहरुको मूख्य अभिभारा हो । यो यथार्थलाई वास्तै नगरी मधेसी दलहरुसमेत विरोधको संकेत गर्दा ‘कालो रंग’को प्रयोग गर्ने गर्दछन्- विरोध गर्नुपर्दा ‘कालो’ झण्डा देखाउँछन्, विरोध सभामा ‘कालो’ व्यानर राख्छन्, मननपर्ने व्यक्तिको पुत्ला दहन गर्दा कालो कपडा लगाइदिन्छन् ।

अझ नयाँ कुरा उसलाई सबैभन्दा मन नपर्ने दिन असोज ३ लाई ‘कालो दिवस’का रुपमा मनाउने तयारी गर्दैछन् । यसरी मधेसी जनताका अधिकारका लागि लडिरहेको दाबी गर्ने मधेसी दल तथा नेताहरु आफैले कालो भनेको अशुभ/नराम्रो भन्ने कुरा पुनःस्थापित गर्न खोजेको अर्थ लाग्छ ।

पहाडी र मधेसी समुदायबीच विभेद हटाउन अब हामीले ‘कालोको अर्थ नराम्रो’ भन्ने सामाजिक मान्यतालाई तोड्न नयाँ जागरण ल्याउनु आवश्यक छ

संविधानका धाराहरुमा चित्त नबुझाउने र ती धाराहरुको संशोधनको माग राख्ने अधिकार यही संविधानले नै दिएको छ । तसर्थ, संविधान संशोधनको माग यही संविधान प्रदत्त अधिकार हो । यो संविधान मन नपरेको आधारमा यो संविधानको विरोध गर्ने र संविधान जारी भएको दिनलाई नराम्रो दिनको रुपमा स्मरण गर्ने अधिकार पनि संवैधानिक अधिकार नै हो । तर नराम्रो दिनलाई संकेत गर्न असोज ३ को नामांकरण नै ‘कालो दिवस’ गरेपछि ‘कालोको अर्थ नराम्रो’ भन्ने बुझाईलाई झन् मजबुद बनाउँछ ।

मधेसी दलहरुले वास्तवमा ‘कालो भनेको नराम्रो हैन’ भनेर पैरवी गर्नुपर्दथ्यो । बरु ती दलहरुले यो संविधानबाट आफ्नो अधिकार हनन भएकै महशुस गरेको हो र असोज ३ को विरोध गर्ने नै हो भने यसलाई ‘अधिकार हनन दिवस’, ‘मधेसविरोधी दिवस’, ‘कु दिवस’, ‘विभेद दिवस’, या यस्ता अन्य सयौं शब्दावली नेपाली शब्दकोषमा छन्, प्रयोग गर्दा राम्रो र अर्थपूर्ण हुन्थ्यो ।

मिडियामा एउटा विज्ञापन आउँछ, ‘हाम्रो मल्हमले तपाईको छाला गोरो र राम्रो (फेयर) बनाउँछ ।’ के हाम्रो छाला ‘गोरो हुनु भनेको राम्रो’ र ‘कालो हुनु भनेको नराम्रो’ हो र ? अझ अचम्म त, यस्ता विज्ञापनको सेन्सर पनि हुँदैन, जसको मान्यता हुन्छ- यो विज्ञापनले भनेको कुरा सही हो । भारतबाटै आएको विज्ञापन भएपनि यसमा मधेसी दलहरुको ध्यानाकर्षण र विरोध आवश्यक छ । छाला कालो हुनुको कारण शरिरमा मेलानिन नामक प्रोटिनको अधिक उत्पादनले हो र यो वंशाणुगत गुण हो । यो गुणसित मानिसको संस्कार, प्रवृत्ति, विचार, भावना, चाहना, रौनक, उत्तेजना जस्ता केही पनि मानवीय गुण गाँसिएको हुँदैन ।

पहाडी र मधेसी समुदायबीच विभेद हटाउन अब हामीले ‘कालोको अर्थ नराम्रो’ भन्ने सामाजिक मान्यतालाई तोड्न नयाँ जागरण ल्याउनु आवश्यक छ । नत्र हामी पछाडिका धेरै वंशसम्म पनि छालाकै रंगका आधारमा कोही मानिस राम्रो भनिने र अर्कोथरी नराम्रो मानिने हुनसक्छ । ‘कालो राम्रा’ चीज पनि मनग्गे नै छन् नि- कालो गाजल कति राम्रो, कालो केश झनै राम्रो, हाकुपटासी पनि राम्रो, शालिग्राम कालै राम्रो, अझ कति चीज छन्, दालमा कालो मास नै राम्रो, यसरी जत्ति कालो त्यत्ति राम्रो भन्ने दृष्टान्त पनि छन् ।



यसमा तपाईको मत